तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्।
शनिबार भएको फाइनलमा अन्य तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरे।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन् ।
एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर 'कोच प्रमोद' रोजेका किरणले त्यसपछि पछाडि फर्कनु परेन।
अमेरिकाबाट भ्वाइसकै लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठ महिनादेखि नेपालमा छन् ।
‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए।
झापाको खुदुनाबारी शिविरमा रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए।
किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमा पनि स्वर दिइसकेका छन्। उनले यसअघि इमेज एफएम, कालिका एफएम लगायतका चर्चित अवार्डहरू हात पारिसकेका थिए।
तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्रतिष्पर्धा गरेका थिए।