कलाकार उत्तम नेपालीको पार्थिक शरीरलाई दिउँसो दुई बजे पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ। ८५ वर्षमा बुधबार अन्तिम सास लिएका उनको शरीरको दाहसंस्कार गरिएको कलाकार एवं कला समीक्षक देवेन्द्र थुम्केलीले बताए।
‘साढे ११ बजेदेखि नै वहाँको शरीरलाई श्रदाञ्जलीका लागि राखिएको थियो,’ थुम्केलीले भने।
लामो समयदेखि नेपाली मुटु र श्वासप्रश्वाससम्बन्धी समस्यासँग जुधिरहेका थिए। बुधबार बिहान साढे ४ बजेतिर भने महाराजगन्जस्थित टिचिङ अस्पतालमा उनले अन्तिम सास फेरेको थुम्केलीले जानकारी दिए। उनका अनुसार नेपालीको मत्युले आधुनिक कलाको एक राम्रो कलाकारलाई कला क्षेत्रले गुमाउनुपर्यो।
सन् १९५९ मा नेपाली भारतको लखनउस्थित आर्टस् एन्ड क्राफ्टसमा अध्ययन गरेर नेपाल फर्किएका थिए। यहाँ आएपछि नेपालीले आधुनिक कलामा धेरै योगदान दिए। मन्दिरका टुँडालका ‘इरोटिक’ कलालाई सेरिजका रूपमा प्रस्तुत गर्नुदेखि अमूर्त कलामा सम्झिने नाम हुन् उनी। अमूर्त कलाको मुख्य स्रोत संस्कृति हो भन्ने मान्यता नेपाली राख्थे। त्यही भएकाले उनको कलामा सांस्कृतिक र आध्यात्मिक पक्षहरु बढी देख्न सकिन्छ।
साहित्यकार पनि रूची राख्ने नेपालीले विभिन्न साहित्यकारहरुलाई कलामा ढालेर काम पनि गरेका छन्।
लखनउस्थित उनकै कलेजमा पढेका कलाकार जयकृष्ण अग्रवालले उनलाई स्मरण गर्दै फेसबुकमा लेखेका छन्, ‘उत्तम भाइ मेरै मभन्दा सिनियर हुनुहुन्थ्यो। सन् २०१८ मा वहाँलाई मैले अन्तिम पटक काठमाडौंमा भेट्ने मौका पाएको थिए। वहाँसँग अंकमाल गरेको क्षण मलाई अझैं याद छ।’
उनले अगाडि लेखेका छन्, ‘फेरी भेट गर्ने भनेर छुटिएका हाम्रो त्यो नै अन्तिम भेट हुन लेखिएको रहेछ।’
केही कलाकारले उनलाई ‘क्यानभासका बादशाह’ वा ‘कलाका शिखर पुरुष’का रूपमासमेत स्मरण गरेका छन्।