राजेशप्रसाद खत्रीले निर्देशन गरेको ‘जुलुङ्गो’ले लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जितेको छ। भर्चुअल रुपमा चार दिन चलेको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जुलुङ्गो उत्कृष्ट भएको हो। यसअघि ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिसन’ अन्तर्गत छनोट भएको थियो।
महोत्सवमा लघु फिल्मतर्फ 'प्याट हेवुड' र जेमिल मेगिनिसको ‘ग्रामर्सी’ पनि अवार्ड हात पारे। त्यसैगरी रामदास कदावल्लुरको फिल्म ‘मन्नु: स्प्राउट्स अफ एन्डुरेन्स’ र सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’लाई स्पेसल जुरी मेन्सन अवार्ड प्रदान गरियो।
उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड लोरी फेल्करकको ‘स्पोटेनस’ ले प्राप्त गर्यो भने उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यु’लाई दिइयो। त्यस्तै लेमोह्याङ जेरिमाया मोसेजद्वारा निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्डसमेत जित्यो।
नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा चलचित्र प्रदर्शन भएका थिए। महोत्सव अवधिभर निःशुल्क चलचित्र प्रदर्शन गरिएको थियो। प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्मात–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो।
असार तीनदेखि छ गतेसम्म चलेको महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बू, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए।