मुटुमा समस्या देखिएपछि गंगालाल अस्पताल भर्ना भएका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बुधबार विहान डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार देखिएपछि उनी डिस्चार्ज भएको छोरा यमनले जानकारी दिए।
चिकित्सकले एक महिना आराम गर्न मदनकृष्णलाई सल्लाह दिएका छन्।
‘डाक्टरले करिब एक महिना रेष्ट गर्नु सल्लाह दिनु भएको छ’ यमनले भने, ‘अहिले स्वास्थ्य अवस्था सामान्य भएकोले डिसचार्ज गरिएको हो । दुई सातापछि फेरि रेगुलर फलोअपका लागि डाक्टरले बोलाएका छन्।’
मुटुमा रगत प्रवाह हुने नसा ९९ प्रतिशत बन्द भएर उनलाई अचानक अत्यधिक मुटु दुखेको थियो । शुक्रबार बेलुका अस्पताल लगिएका उनको शनिबार बिहान एन्जियोप्लास्टि गरेर स्टेन्ट (धातुको ट्युब) हालियो । उक्त शल्यक्रियामार्फत नाडी वा ग्रुइनमा धमनीमा ट्युब घुसाइन्छ । त्यसपछि मुटुको वरिपरि प्रभावित धमनीमा ट्युब थ्रेड गरिन्छ तथा बेलुन वा स्टेन्ट (धातुको ट्युब) घुसाइन्छ, जसले रोकिरहेको धमनी खुल्छ र रगत प्रवाह सामान्य गतिले हुन्छ ।
यो उनको दोस्रोपटक शल्यक्रिया हो । यसअघि, सन् २०१९ को अक्टोबरमा पनि यो शल्यक्रिया गरिएको थियो ।
मदनकृष्णमा कोरोना भाइरस संक्रमण अझै पनि पोजिटिभ देखिएको छ। वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएको केही दिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
पहिलोपटक उनी आठ दिन अस्पताल भर्ना भएका थिए भने दोस्रोपल्ट मेडिसिटीमा १४ दिन बसेका थिए।