गीतकार प्रगति देवकोटाको शब्द र एलिना चौहानको स्वरमा ‘हावामा फैलियो मधुरो गीत’ गीतको भिडिओ सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक गीतमा संजीव सिंहले संगीत दिएका छन्।
अस्ट्रेलियामा रहेर गीत लेखनमा सक्रिय प्रगति देवकोटा विषयवस्तुमा बाँधिएर गीत लेख्छिन्। उनले यो नयाँ गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरलाई विषय बनाएकी छिन्।
कवि सुवेदी र पूजन सापकोटाद्वारा निर्देशित सार्वजिनक गीतको भिडियोमा यही भावलाई उतारिएको छ। गीतकार देवकोटा आफैं देखिने यस गीतको भिडियो परिकल्पना उनकै हो। सरल शब्दमा गहन कुरा भन्न सक्ने गीतजस्तै भिडियो पनि अर्थपूर्ण छ।
आफ्नै मनभित्रको भयले झस्काउने पात्रको कथा देखाउन छायापात्रको प्रयोगले भिडियोलाई सुन्दर बनाएको छ। गीतकारले देवकोटाले भनिन्, 'एक वर्षभन्दा लामो समयदेखि महामारी र लकडाउन भोगिरहेको बेला यो गीत सार्वजनिक गर्न सान्दर्भिक लागेर म्युजिक भिडियो बनाइएको हो।'
उनले २५ वर्षअघि स्कुल पढ्ने बेला एउटा कविता लेखेकी थिइन्। त्यही कवितालाई अहिलेको सन्दर्भ जोडेर गीत बनाइएको उनले बताइन्। विगत पन्ध्र वर्षदेखि सिड्नीमा बस्दै आएकी गीतकार देवकोटाका यसअघि 'गाडी गुड्छ नेपाली' र 'लिसन टु मी' गीत सार्वजनिक छन्। इन्डोनेसियन आमा र नेपाली बुवाकी छोरी आइशा डोटेलले गाएको गीत 'गाडी गुड्छ नेपाली' गत वर्ष धेरैले मन पराएका थिए।
गीतकार देवकोटा आइशाकी आन्टी हुन्। आइशालाई नेपाली उच्चारण सिकाएर उनैले गीत गाउन सहयोग गरेकी हुन्। उनीहरुले आमा छोरीको सम्बन्धमा बनेको लिसन टु मीमा पनि सहकार्य गरेका छन्। गीतकार देवकोटाको संजीव सिंहकै शब्दमा 'रमाइला ती दिन' गीत पनि सार्वजनिक छ।
वेस्टर्न सिड्नी युनिभर्सिटीमा पढाउने प्रगति महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी पनि हुन्। उनका हजुरबुवा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन्।
गीतकार देवकोटाले भनिन्, 'विदेशमा बसेर काम र घरव्यवहारबाट फुर्सद निकालेको समय गीत संगीतमा दिइरहेकी छु। गीतकै माध्यमबाट नेपाली स्रोता दर्शक र आफ्नो देशसँग जोडिन पाउँदा खुसी लागेको छ।'
‘हावामा फैलियो मधुरो गीत’ भिडिओ प्रगति र एलिशाको संयुक्त युट्युब च्यानलबाट सार्वजनिक भएको हो।