नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वार्षिक रुपमा आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको प्रोमो सार्वजनिक भएको छ। बैशाखको २३ देखि २७ सम्म आयोजना हुने महोत्सव कोरोनाका कारण भर्चुअल हुनेछ।
महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार महोत्सवमा सहभागी फिल्महरु नेट टेलिभिजनबाट प्रसार गरिने छ।
‘विश्वका कथाहरुको उत्सव’ नाराका साथ फिल्म संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको महोत्सवमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराइने र अवार्ड पनि वितरण गरिने अध्यक्ष पाठकले बताए।
कोभिड–१९ ले पारेको प्रभावमा बनेका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्। अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ।
महोत्वमा सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७ सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलर राशीको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ।
त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार रुपैयाँ र फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने जनाइएको छ।
इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजको तर्फबाट महोत्सवमा उत्कृष्ट फिचर फिल्मका लागि आइएफएफएस डन क्विजोट अवार्ड प्रदान गरिने छ। निफले सार्वजनिक गरेका तीन विधामा १० सदस्य जुरीमध्ये नेपालबाट तुलसी घिमिरे र छिरिङ रितार शेर्पा छन्।
महोत्सवबारे थप जानकारीका लागि तलको लिंक हेर्नुहोला-
https://niff.org.np/jury