कर्णेश राजथलाको स्वरमा नयाँ गीत 'वसन्त-शिशिर' सार्वजनिक भएको छ। गीत युट्युब मार्फत शुक्रबार सार्वजनिक भएको हो।
दुर्गम पहाडको नर्स र परिस्थितिवश विद्रोही बनेका युवकबीचको प्रेम सम्बन्ध देखाइएको छ। वसन्त र शिशिर दुई अलग मौसम हुन् जसको एकै पटक अस्तित्व सम्भव छैन। तर वसन्त-शिशिर आदर्श प्रेमका प्रतीक हुन्। प्रस्तुत गीतमा पनि प्रेमको त्यस्तै गहिराई देखाइएको छ।
युद्ध विचारको मात्र हुन्न। दुई अलग पात्रहरु बीचमात्र पनि हुन्न। एउटा मौसमले पनि अर्को मौसमले बनाएको खतलाई पुर्न खोजिरहेको हुन्छ। हिउँ, पानी, पालुवा बद्लिने स्थितिमा पनि प्रेम साझा हुन्छ। परिस्थितिसँग जुधेर वा अर्थहरु बदलेर पनि प्रेम बाँचिरहन्छ। हेम थामीको रचना-संगीत रहेको वसन्त-शिशिर गीत र यसको भिडिओमा यही भाव चित्रण गरिएको छ।
यसमा रोशनी कार्की र सन्दीप श्रेष्ठको मुख्य अभिनय छ। मनाङ र लमजुङका रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको निर्देशन तथा सम्पादन नवीन भट्टले गरेका छन्। भिडिओमा ज्ञान चौलागाईको छायांकन छ।
आर्टमाण्डुद्वारा तयार यो गीतको भिडिओमा कलरिङ चानस पुन मगरले गरेका छन्। गीतमा एरेन्ज मन्जिल विक्रम केसीले गरेका छन् भने मिक्सिङ-मास्टरिङ कोविद बज्रले गरेका हुन्।
कथात्मक प्रस्तुतिमा सुन्दर निर्देशन आर्टमाण्डुको प्रस्तुतिमा बनेका म्युजिक भिडिओका विशेषता हुन्। 'वसन्त-शिशिर'मा पनि यो विशेषता भेटिन्छ।