भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा बुद्ध थिएटर फेस्टिभल सुरू भएको छ।
आइतबार संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी रंगकर्मी मदनदास श्रेष्ठले फेस्टिभलको औपचारिक रूपमा समुद्घाटन गरे।
उद्घाटन पछि बोल्दै कवि तुलसी दिवसले बुद्धको ज्ञान विश्वभर फैलिनुपर्ने बताए। कार्यक्रममा उनले नाटकको माध्यमबाट यो ज्ञान फैलनु झनै प्रभावकारी काम हुन सक्ने बताए। फेस्टिभलका निर्देशक पुस्कर गुरूङका अनुसार गत वर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी थालिएको थियो। तर कोभिड–१९ को महामारी फैलिएपछि फेस्टिभल गर्न पाएन। उनले भने, ‘यसवर्ष बुद्ध सम्बन्धी बनेका नाटकहरू खोज्यौँ। हामीले पाँच वटा नाटक पायौँ र फेस्टिभलको आयोजना गर्न तम्सियौँ।’
उद्घाटनसँगै कार्यक्रममा लामामन्त्र र चर्या नृत्य प्रस्तुत गरिएको थियो। डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर गर्न लागेको थिएटर फेस्टिभल शनिबारसम्म हरेक दिन ५ बजे बुद्ध कथामा बनेको नाटक देखाइन्छ।
फेस्टिभलको पहिलो दिन भारतीय नाटक निर्देशक डा दानी करमाकर निर्देशित ‘तथागत’ देखाइयो। महामारीका कारण कलाकारको टोली आउन नसकेपछि खिचेर पठाएको नाटक देखाइएको थियो।
नाटकमा बुद्धले जाति व्यवस्था र छुवाछुतलाई नमान्ने प्रसंगलाई प्रस्तुत गरको थियो। नाटकमा तल्लो जातका एक युवकले पानी छोइदिएको निहुँमा कथित माथिल्लो जातका मानिसहरू उनलाई कुट्न तम्सिन्छन्। आफूमाथि ज्यानको संकट आएको देखेपछि ती युवक सहाराको खोजीमा चिच्याउँछन्। यहीबेला बुद्ध आउँछन् र तिनलाई संरक्षण गर्छन्। अँगालोमा राखेर लुकाउन खोज्छन्। तर, जब उसले बुद्धलाई देख्छ युवक झन् तर्सन्छ। युवक ‘मलाई नछुनुहोस्, तपाई दुषित हुनुहुनेछ’ भन्दै बुद्धलाई पन्छाउन खोज्छ। तब बुद्ध भन्छन्– किन दुषित हुन्छु म ? तिमी पनि सबै जस्तै मानिस हो। एक मानिसले अर्काे मानिसलाई कसरी दुषित बनाइदिन सक्छ ? केवल लाज, घृणा, भ्रम, लोभ, मोह, तृष्णाले मात्रै मनुष्यलाई दुषित बनाउन सक्छ।’ बुद्धको यो वाणाी सबैले मनन गरेसँगै नाटक सकिन्छ।
सोमबार फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृहत्याग’ मञ्चन हुनेछ। यो नाटकले दुःखसँग सिद्धार्थ गौतमको साक्षात्कार र यसको उत्तरको खोजीमा उनले गरेको मानसिक संघर्षलाई प्रस्तुत गर्नेछ। नाटकले सिद्धार्थले बुद्ध बन्न गृहत्याग गर्नुअघिको प्रसंगलाई समेटेको छ। १ घन्टा अवधिको नाटकको कथा प्रेमविनोद नन्दनले लेखेका हुन्। नाटकमा सुचिता उप्रेति, तुफान थापा, अस्मिता खनाल, देबिशा लामिछाने, अभिषेक शर्मा आदि कलाकारको अभिनय रहनेछ।
मंगलबार भने झोराहाट नाट्य समूहको प्रस्तुति रहेको रविन्द्रनाथ टैगोर लिखित नाटक ‘मालिनी’ मञ्चन हुनेछ।