दीपेन्द्र लामाको निर्देशन र वर्षा राउतको मुख्य अभिनय रहेको सर्ट फिल्म 'सावधान' सार्वजनिक भएको छ। गत शुक्रबार युट्युबमा सार्वजनिक फिल्ममा बालयौन दुराचारको विषयमा केन्द्रित छ।
वर्षाले आमाको भूमिका निर्वाह गरेको यो फिल्ममा काव्या अधिकारी छोरीको भूमिकामा देखिन्छिन्। बुवाको भूमिका भने प्रवीण खतिवडाले निर्वाह गरेका छन्।
सानी बालिकामाथि आफन्तबाट हुने यौन दुर्व्यवहार र त्यसबाट अनभिज्ञ अभिभावकको समस्या फिल्ममा देखाइएको छ।
'सावधान' अभिभावकहरुलाई सचेत बनाउने उद्देश्यले फिल्म निर्माण गरिएको निर्देशक लामाले बताए।
‘आफ्ना छोराछोरीलाई हामी मिठो खाना, राम्रो लुगा र महँगो शिक्षा त दिन्छौं तर उनीहरुमाथि भइरहेको दुर्व्यवहारबारे बेखबर हुन सक्छौं,’फिल्मको लेखकसमेत रहेका लामाले भने, ‘बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको समस्या बुझ्न सकिएन भने ठूलै दुर्घटना निम्तिन सक्छ।’
सामाजिक कथा भएको फिल्मको स्क्रिप्ट मन परेर फिल्ममा अभिनय गर्न तयार भएको वर्षा राउत बताउँछिन्। उनले थपिन्, ‘यस्तो संवेदनशील विषयलाई धेरैभन्दा धेरै दर्शकसमक्ष पुर्याउनु कलाकारहरुको कर्तव्य हो।’
‘घरभित्र हुने यौनदुर्व्यवहारबारे हामी खुलेर कुरा गर्दैनौं, यसले गर्दा पीडकहरु झन् उत्साही हुन सक्छन्, त्यसैले यस्तो विषयमा सबैले खुलेरै चर्चा गरुन् भन्ने हाम्रो उद्देश्य हो,’ निर्मातामध्ये एक फूर्वाले बताइन्। बिन्ती नेपाल नामक अनौपचारिक अभियान यही फिल्मबाट सुरु भएको जानकारीसमेत गराइन्।
शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्मकाठमाडौंको कपन क्षेत्रमा एकै दिनमा खिचिएको थियो।
ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको फिल्मले उत्साहजनक प्रतिक्रिया बटुलिरहेको छ।आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामीलगायत कलाकारको अभिनय रहेको फिल्मको अवधि ११ मिनेट छ।
'सावधान' जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले संयुक्त लगानीमा निर्माण भएको हो।