यहाँ जारी जननकपुर साहित्य महोत्सवको दोस्रो दिन यहाँको भाषा तथा संस्कृतिको इतिहास, माता जानकी, यहाँको पर्यटनका साथै एसिड पीडित महिलाको आक्रोश लगायतका विषयमा चर्चा परिचर्चा भएको छ।
जानकी मन्थन शिर्षकको सत्रबाट सुरू भएको जनकपुर साहित्य महोत्सवको दोस्रो दिनक मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले माता जानकीको जन्म, चरित्र तथा नारीत्वको विषयमा चर्चा गरेका थिए।
उनले सो सत्रमा रामायणमा उल्लेख गरिएको जानकी जन्म र व्यक्तित्वको विषयमा प्रकाश पारे। साहित्यकार डा. विमलले माता जानकीले सम्पूर्ण नारी मात्र नभई मानव जगतलाई त्याग र संयमताको भाव सिकाएको बताए।
जानकीको विषयमाथि चर्चा गरिरहँदा साहित्यकार विमलले मिथिलाको विषयमा समेत चर्चा गरेका थिए। उनले रामराज्य अर्थात् सुशासनको नमूना मिथिलाले नै दिएको बताए।
‘भगवान रामले अयोध्यामा साशन गरेपछि मात्रै रामराज्यको चर्चा भयो र उनी असल राजाको छवि बनाउन सफल भए, भगवान राम मिथिलाबाटै सुशासनको कला सिकेर अयोध्यामा लागू गरे,’ उनले भने।
जानकी मन्थन सत्र समाप्त भएलगत्तै जनकपुरधामको पर्यटनलाई बढावा दिने उद्देश्यले राखिएको ‘जाऔँ जनकपुर सुदर्शनजीसँग’ सत्रमा मानसी अग्रवालले जनकपुरमा पर्यटनको प्रचुर सम्भावना रहेको बताइन्। जनकपुरधामको पहिलो टुरिष्ट गाइड सुदर्शनलाल कर्णसँग कुरा गरिरहँदा अग्रवालले जनकपुरको सौन्दर्यताको वर्णन गरिन्।
यद्यपि, पर्यटकलाई जनकपुरमै टिकाउनका लागि कुनै पनि ठोस योजना नरहेकोमा चिन्ता व्यक्त गरिन्।
आफू नेपालको मनाङ मुस्ताङ, रारा ताल र जनकपुरधाम घुम्न लालायित रहेको र जनकपुरधाम आएपछि यो सपना साकार भएको बताउँदै यहाँका मन्दिरहरूमा रहेका मनमोहक कलाकृतिले आकर्षित गरेको उनले बताइन्।
मानसीले यहाँको लोक नृत्य झिझिया, मिथिला चित्रकला र लस्सी असाध्यै मन परेको अनुभव समेत सुनाइन्।
उनले भनिन्, ‘यी तीन चिजले मलाई यति आकर्षित गर्यो कि आफू यहाँको नृत्य झिझिया र मिथिला चित्रकला सिकेको र लस्सी दिनमा तीन पटकसम्म खान्थें,’ उनले भनिन्।
जनकपुरका यी धरोहरहरूलाई प्रचार-प्रसार गर्न नसक्दा जनकपुरको पर्यटनलाई फड्को मार्न नसकेको मानसीले बताइन्।
मैथिली साहित्यको र इतिहास सत्रमा डा. रामावतार यादव र रोशन जनकपुरीले बहस गरेका थिए। डा. यादवले मैथिली भाषामाथि आफ्नैले पटक-पटक आक्रमण गर्दा यसले आफ्नो समृद्धि गुमाउँदै गएको तीतो यथार्थ हामीसामू रहेको बताए। उनले मैथिली भाषा मेरो हो भन्नेहरूले नै यसको संरक्षण तथा सम्वर्द्धनका लागि अगाडि नआएपछि यस्तो अवस्था सिर्जना भएको बताए। उनले भने, ‘मैथिली भाषाको मिठास अझै जीवित छ भने यसको श्रेय विदेशी विद्वानहरूको हातमा जान्छ न कि हाम्रो।’
सोही सत्रमा साहित्यकार जनकपुरीले मैथिली भाषाको निजत्व अहिले पनि गाउँ घरमा रहेका कथित तल्लो तप्काका व्यक्ति, मजदुर किसानहरूले बचाएको बताए। उनले मैथिली भाषामा संस्कृत भाषा हावी हुँदै गएपछि यसले आफ्नो निजत्व गुमाएको यथार्थ सबैले स्वीकार गर्नुपर्ने बताए।
एसिड पीडित आरतीको माग : एसिड बेच्नेलाई पनि जन्मकैदको सजाय होस्
जनकपुरमा जारी जनकपुर साहित्य महोत्सवमा ‘सौन्दर्यभित्र : सौन्दर्य बाहिर’ सत्रमा एसिड आक्रमणबाट पीडित आरती साह पनि सहभागी भइन्। आरतीले सो सत्रमा एसिड फाल्नेलाई जस्तै एसिड बेच्नेलाई पनि कडा कारबाही हुनुपर्ने माग गरिन्।
उनले एसिड फाल्ने तथा बेच्ने दुबैलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरिन्।
‘एसिड फाल्ने मेरो श्रीमानकै कारण मात्र नभई एसिड बिक्री गर्ने व्यापारीका कारण समेत मेरो यस्तो अवस्था आएको र यस्तो दुःखदायक पीडा अन्य कुनै बहिनीलाई नहोस्,’ उनले भनिन्।
आरतीले बिना लाइसेन्स एसिड बिक्री गरिरहेकाले एसिड फाल्ने घटना बढिरहेको भन्दै आक्रोश व्यक्त गरिन्।
आफ्नो पुरानो तस्वीरसहित पुगेकी आरतीले भनिन्, ‘यो आरती मरिसकेको छ र अब यो आरती जीवित छ। अब जे मेरो स्वरुप छ, त्यो स्वरुपमा बाँच्नका लागि समाजको सहयोगको आवश्यकता छ।’