अभिनेत्री पूजा शर्मा आफ्नो प्रेम सम्बन्धबारे खुलेर बोलेकी छन्। उनले दर्शकहरूले आफ्नो नाम र प्रेम सम्बन्ध अन्य सहकर्मीसँग जोड्ने विषयमा पनि बोलेकी छन्।
पूजाले मंगलबार फेसबुक र इन्स्टाग्राममा स्टेटस पोस्ट गर्दै आफू कोही पनि सहकर्मीसँग प्रेम सम्बन्धमा नरहेको बताएकी हुन्।
'कतिपय अवस्थामा दर्शकले मसँग पर्दामा काम गर्नु भएका सहकर्मी कलाकारलाई मेरो प्रिय जोडीको रूपमा हेरिदिनुभएको छ,' उनले स्टेटसमा लेखेकी छन्, 'यो एउटा कलाकार भएको नाताले मैले सौभाग्यको रूपमा लिएकी छु।'
झन्डै ७ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय पूजा निर्माता समेत हुन्। उनले यी सब विषयलाई समेट्दै आफ्नो सफलताको श्रेय दर्शकलाई दिएकी छन्। लेखेकी छन्, 'मेरा लागि सबैभन्दा माथि मेरा दर्शकहरू हुनुहुन्छ। दर्शकहरूको प्रेमकै कारण म आज यहाँ छु। चलचित्र क्षेत्रमा लागेपछि थुप्रै अग्रज, समकालीन साथीहरूसँग जोडिने मौका पाएँ। जसले मलाई अगाडि बढ्न सधैं प्रेरणा, हौसला र साथ दिनुभयो।'
यसैमा थप भनेकी छन्, 'चलचित्र बजारमा मेरा बारेमा चल्ने विभिन्न खालका चर्चा परिचर्चालाई मैले सामान्य रूपमा ग्रहण गर्दै अगाडि बढिरहेकी छु। दर्शकले दिनुभएको सल्लाहा, सुझाव र मायालाई नै आत्मसात गर्दै म अगाडि बढ्नेछु।'
आफ्नो प्रेम सम्बन्ध भइहालेमा दर्शकमाझ खुलस्त रूपमा बताउनेमा उनी लेख्छिन्, 'जिन्दगीको यात्रा तय गर्ने क्रममा कसैसँग म जीवनलाई नै नयाँ तरिकाले अगाडि बढाउने सोचमा पुगेँ भने अवश्य पनि दर्शक, मिडियाकर्मी साथीहरू र मेरो दोश्रो घरको रूपमा रहेको चलचित्र क्षेत्रलाई अवश्य साक्षी राख्नेछु।'
पूजाका 'पाइपलाइन'मा अहिले चार फिल्म छन्। तीन वटा फिल्मको छायांकन सकिएको छ भने एउटाको छायांकन अपूरै छ। ‘म यस्तो गीत गाउँछु २’, ‘सम्हालिन्छ कहिले मन’, ‘सम्झना बिर्सना’ र ‘पर्खी बसे २’ पूजाका आगामी फिल्म हुन्। पूजाको प्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु २’ लकडाउनकै कारण सार्वजनिक हुने मिति तोकिइसकेपछि रोकिएको थियो।