अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्म 'थिरिमाली'मा अभिनय गर्ने निश्चित भएको छ। उनले गत बिहिबार आफूले फिल्म निर्माण पक्षसँग सम्झौैता गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्।
थिरिमाली दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज र नेपालको तर्फबाट अनन्या फिल्म्सद्वारा निर्माण हुनेछ। राजीव सेट्ठीले निर्देशन गर्ने यो फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मालगायत कलाकारको अभिनय छ। फिल्ममा स्वस्तिमासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने बताइएको छ।
मलयालम भाषामा बन्ने 'थिरिमाली' हिन्दी र नेपालीलगायत भाषामा बन्न लागेको हो। नेपालको कपिराइट अधिकार अनन्या फिल्म्सले लिएको छ। अनन्या फिल्म्सका निर्माता सरोज न्यौपानेले फिल्म चैत पहिलो साताबाट सुरु छायांकनमा जाने जानकारी दिए। फिल्मको अधिकांश भाग नेपालमा खिचिने यो फिल्म काठमाडौं र मुस्ताङमा छायांकन हुनेछ।
निर्माता सरोजले भारतको देहरादुनमा प्लस टु पढेका हुन्। उनले भने, 'थिरिमालीको कथावस्तु र पात्र नेपाली भएकोले भारतीय साथीहरुको सम्पर्कबाट फिल्ममा जोडिन पुगेँ। नेपाली फिल्म क्षेत्रका लागि यो पहिलो र महत्वपूर्ण सहकार्य हो।'
यसैबीच अभिनेत्री स्वस्तिमा र थिरिमाली निर्माण पक्षबीच भएका भेटघाटका तस्बिरहरु बाहिरिएका छन्। थिरिमाली निर्देशक राजीवले स्वस्तिमासँग खिचेकाे तस्बिर फेसबुकमा राख्दै लेखेका छन्, 'नेपालकी सुपरस्टार स्वस्तिमासँग।'
हाल स्वस्तिमा निर्देशक दीपेन्द्र के खनालको ‘चिसो मान्छे’ मा व्यस्त छिन्।