सुपरहिट दक्षिण भारतीय तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका युवा फिल्म्सले अडिसन गर्ने तयारी सुरु गरेको छ। विशाल सापकोटाले निर्देशनमा करिब १ वर्ष अघि नै घोषणा भएको यो फिल्मको काम कोरोना महामारीका कारण अघि बढ्न सकेको थिएन।
अहिले स्थिति सामान्य बन्दै आएकोले फिल्मका कलाकार छान्ने काम अघि बढाइएको हो। विशाल 'सेल्फी किङ'का निर्देशक हुन्।
‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने समाचार केही महिना अघि नै बाहिरिएको थियो। अडिसनबाट फिल्मका मुख्य नायक, नायिका र अन्य केही कलाकार छानिने बताइएको छ।
दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनित यस फिल्मलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए। फिल्मले बक्स अफिसमा ५१ मिलियन भारतीय मूल्य बराबर कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो। बलिउड अभिनेता साहिद कपुर अभिनित यो फिल्म बक्स अफिसमा ३ सय ८० करोड कमाइ गर्न सफल रह्यो।
‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। दक्षिण भारतीय फिल्मको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो। फिल्म केशव खड्का र आशिष श्रेष्ठको निर्माणमा बन्नेछ।
युवा फिल्म्सले अडिसनका लागि Contact@yuvafilms.com मा इमेल गर्न आग्रह गरेको छ।