'एलआइसी १० औं नेफ्टा अवार्ड २०७७' को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेफ्टाले २०७५ सालमा प्रदर्शनमा आएका फिल्महरूबाट ३० भन्दा बढी विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको हो।
काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रम दुई चरणमा सञ्चालन भयो। उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्वअध्यक्ष राजकुमार राई, नेफ्टा पूर्वअध्यक्ष मनोज केसीलगायत विभिन्न फिल्मकर्मीहरूले अवार्ड सफलताको कामना गर्दै आफ्नो मन्तव्य राखे।
कांग्रेस प्रवक्ता शर्माले दूरदराजमा लुकिरहेका नागरिकहरुको कथालाई फिल्मको माध्यमबाट बाहिर ल्याउन फिल्मकर्मीहरूलाई सुझाव दिए। 'उड्दै गरेको जहाज होइन, त्यो जहाजले उड्दै गर्दा छोडेको माटोको पीडा पर्दामा ल्याउनुपर्छ,' कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले भने, 'फिल्म समाजको ऐना हो। सरकारले नदेखेका, नखोजेका कथा फिल्ममा समेट्न सकिन्छ।'
कार्यक्रममा नेफ्टा अध्यक्ष पुष्कर लामाले कोरोना महामारीका कारण थलिएको फिल्म उद्योगलाई चलायमान राख्न नेफ्टा अवार्ड कोशेढुङ्गा साबित हुन सक्ने विश्वास राखे।
कार्यक्रमको दोश्रो चरणमा विभिन्न ३१ विधामा प्रतिस्पर्धामा परेका फिल्म तथा फिल्मकर्मीहरूलाई मनोनयनको प्रमाणपत्र प्रदान गरियो। जसअन्तर्गत १० औं नेफ्टा अवार्डमा सर्वाधिक १३ विधामा फिल्म 'प्रसाद' मनोनयनमा परेको छ। त्यस्तै फिल्म 'ए मेरो हजुर ३' ११ र 'छक्का पञ्जा ३' १० विधामा मनोनयनमा परेको छ।
तस्वीर सौजन्यः आर्यन विमलीयहि फागुन २९ गते प्रदान गरिने अवार्डको उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा 'प्रसाद', 'रोमियो एण्ड मुना', 'हरि', 'कथा काठमाडौं' र 'छक्का पञ्जा ३' परेका छन्। उत्कृष्ट निर्देशकको प्रतिस्पर्धामा 'प्रसाद'बाट दिनेश राउत, 'रोमियो एण्ड मुना'बाट नरेशकुमार केशी, 'रामकहानी'बाट सुदर्शन थापा, 'छक्का पञ्जा ३' बाट दीपाश्री निरौला र 'ए मेरो हजुर ३' बाट झरना थापा प्रतिस्पर्धामा छन्।
उत्कृष्ट अभिनेतातर्फ विपीन कार्की 'प्रसाद', विनय श्रेष्ठ 'रोमियो एण्ड मुना', विपिन कार्की 'हरि', खगेन्द्र लामिछाने 'डमरूको डण्डिबियो' र अनमोल केसी 'ए मेरो हजुर ३' प्रतिस्पर्धामा रहदा उत्कृष्ट अभिनेत्रीतर्फ 'प्रसाद'बाट नम्रता श्रेष्ठ, 'रोमियो एण्ड मुना'बाट सृष्टि श्रेष्ठ, 'साइँली'बाट मेनुका प्रधान, 'रामकहानी'बाट पूजा शर्मा र 'छक्का पञ्जा ३' बाट दीपिका प्रसाइँ प्रतिस्पर्धामा छन्।
चलचित्रकर्मीको वास्तविक सम्मान भन्ने नारासहित आयोजना हुन लागेको अवार्डमा नेफ्टासँग ड्रिम हाइ नेपालले सहकार्य गरेको छ। नेफ्टा र ड्रिम हाइ नेपालको तर्फबाट आयोजना हुन लागेको अवार्डमा इभेन्ट व्यवस्थापनको काम फेम नेपालले गरेको छ।
कार्यक्रमको अन्त्यमा एलआइसी नेपालले टाइटल प्रायोजन गरेको अवार्डमा प्रायोजना जोडिएका तथा अन्य सबै साथ र सहयोगीहरूलाई ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले धन्यवाद व्यक्त गर्दै निरन्तर सहयात्राको अपेक्षा राखे।
तस्वीर सौजन्यः आर्यन विमली