'किताब जात्रा'को आयोजनामा माघ १७ देखि २३ सम्म साहित्य महोत्सव आयोजना हुने भएको छ। काठमाडौंमा आइतबार किताब जात्राले कार्यक्रम आयोजना गरी 'नबिल किताब जात्रा २०७७' बारे जानकारी गराएको हो।
कार्यक्रममा किताब जात्राका संस्थापक ऋषिराम अधिकारी, बैंकर अनिल केशरी शाह, चार्टर्ड अकाउन्टेन्ट भरत रिजाल, पत्रकार टीकाराम यात्री, पत्रकार कला अनुरागी र कवि शकुन्तला जोशीले कार्यक्रमबारे बिस्तारमा जानकारी गराए।
प्रमुख अतिथिका रुपमा उपस्थित नबिल बैंकका सिईओ अनिलले भने, 'नेपालमा जात्राहरुको लामो परम्परा छ जसको आधार धर्म हो। यस्ता जात्राहरु अतीतमुखी छन्। तर किताब जात्राको आधार धर्म नभएर ज्ञान हो जुन भविष्यमुखी छ।'
उनले थप भने, 'पूर्ण नेपाली नागरिक बन्न ज्ञान चाहिन्छ। यसका लागि किताब जात्राजस्ता महोत्सवको निरन्तरताको खाँचो छ।'
कोरोना महामारीका कारण यस पटक हुने एक हप्ता लामो महोत्सव भर्चुअल हुनेछ। यस पटक भर्चुअल महोत्सवका सम्पूर्ण कार्यक्रम एपी वान टेलिभिजनबाट प्रसारण हुने पनि कार्यक्रममा जानकारी दिइयो।
एपी वान टेलिभिजनका प्रमुख सम्पादक टीकाराम यात्रीले भने, 'सामाजिक सञ्जाल र डिजिटल मिडियाको प्रभाव बढिरहेको अवस्थामा टेलिभिजन कार्यक्रममा दायरा र प्रभाव अझ फराकिलो बनाउने समय आएको छ। यही दायित्व पूरा गर्दै हामीले किताब जात्रासँग सहकार्य गरेका हौं।'
महोत्सवका सेसनहरु एपी वान टेलिभिजनबाट हरेक दिन बेलुका छ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन २३ गने ५ बजेदेखि ७ बजेसम्म प्रसारण हुनेछ। किताब जात्राका सम्पूर्ण सेसन 'किताब यात्रा एप'बाट पनि हेर्न सकिनेछ।
कार्यक्रममा बोल्दै किताब जात्राका ऋषिराम अधिकारीले भने, 'पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने हाम्रो लक्ष्य हो। त्यसैले यो महोत्सव पठन संस्कृति बिस्तारको अभियान हो।'
'किताब यात्रा' अनलाइन अर्डर लिई ग्राहकको घरदैलोमै किताब पुर्याउने काम गर्छ। यो 'किताब जात्रा'को तेस्रो संस्करण हाे।
महोत्सवमा भाषा, साहित्य, सिनेमा, समाज, उद्यमलगायत विविध विषयका अनुभवी तथा विज्ञसँग अन्तक्रियात्मक छलफल हुनेछन्। यही अवसरमा नेपाली वाङमयका क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तिलाई पुरस्कृत गर्ने, किताब जात्राबाट सर्वाधिक बिक्री हुने पुस्तकलाई 'किताब यात्रा बेस्ट सेलर अवार्ड' प्रदान गरिने, डिजिटल पुस्तक प्रदर्शनीलगायत गतिविधि सञ्चालन गरिने अधिकारीले बताए।