२०७२ को महाभूकम्पमा धनजनसहित नेपालका महत्वपूर्ण भवन र सम्पदामा ठूलो क्षति पुगेको थियो। तीमध्ये एक थियो, नाट्य शिरोमणि बालकृष्ण समको ज्ञानेश्वरस्थित जन्मघर, समर निकुञ्ज।
काठमाडौं विश्वविद्यालय (केयू) ले समको ज्ञानेश्वरस्थित उक्त घर संरक्षण र पुनर्निर्माण गर्ने भएको छ। आइतबार विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकजु श्रेष्ठले समको जन्मघरको संरक्षण गर्दै नयाँ पुस्तामा उनको काम र योगदान हस्तान्तरण गर्न लागिएको जानकारी दिए।
समको घरमै भएको अनौपचारिक भेलामा उनले यो जानकारी दिएका हुन्। उपकुलपति श्रेष्ठले भने, ‘हाम्रो देशको कला, संस्कृति, सम्पदा र संगीतको अध्ययन अनुसन्धानसँगै यसको संरक्षणका लागि केयूले लामो समयदेखि काम गर्दै आएको छ। समको घरको संरक्षण र पुनर्निर्माण गर्ने काम त्यसकै निरन्तरता हो।’
कूल पाँच करोड असी लाख नेपाली रुपैयाँ लागत रहेको समर निकुञ्ज पुनर्निर्माणको काम दुई चरणमा हुनेछ। कार्यक्रममा भवन पुनर्निर्माण, सेमिनार हल, आर्ट ग्यालरी, पार्किङ स्थलबाहेक भवनमा सर्जक तथा अध्येताका लागि समेत विशेष ठाउँहरु बनाइने जानकारी दिइयो।
प्राध्यापक, लेखक, सिनेकर्मी र कलाकारहरूको उपस्थितिमा भएको कार्यक्रममा अभिनेता सुनिल थापा, गौरव पहाडी, लेखक कुमार नगरकोटी, पत्रकार बसन्त बस्नेतलगायत विभिन्न क्षेत्रका व्यक्तित्व उपस्थित थिए।
काठमाडौं विश्वविद्यालयले सन् १९९६ देखि नेपालका विविध जातजातिका संगीत संस्कृतिको अध्ययन गर्ने काममा दक्षिण एसियामै उदाहरणीय काम गर्दै आएको छ। यसक्रममा संगीत, संस्कृतिको अध्ययनलाई विश्वविद्यालयले समुदायसँग जोड्ने काम गरेको उपकुलपति श्रेष्ठले बताए।
‘अब कुनै पनि विश्वविद्यालयको भूमिका रिडिफाइन गर्ने बेला आएको छ। हाम्रा कक्षा कोठाभित्रका सीमित सिकाइले सिकेको कुरा भन्न त सिकिन्छ तर काम गर्न सिकिँदैन रहेछ। यो नेपालको शैक्षिक अभ्यासको कमजोरी हो,’ उपकुलपति श्रेष्ठले भने, ‘त्यसैले हामीले सकेसम्म काम पनि सिकिने खालको सिकाइमा जोड दिने अभ्यास गर्दै आएका छौं। यस्तो सिकाइले विद्यार्थीसँगै समुदायलाई पनि फाइदा पुग्छ।’
पछिल्लो समय केयू संगीत विभागले भूकम्पबाट जीर्ण त्रिपुरेश्वरस्थित त्रिपूरासुन्दरी परिसर पुनर्निर्माण गरिरहेको छ। जीर्ण सम्पदाको संरक्षणसँगै यो परिसरमा केयूले शैक्षिक अभ्यास पनि गर्ने भएको छ।
केयू संगीत विभाग प्रमुख तथा गायक लोचन रिजालको संयोजनमा त्रिपूरासुन्दरी परिसर पुनर्निर्माणको काम भइरहेको हो। बालकृष्ण समको निवास संरक्षण र पुनर्निर्माणको कामको संयोजन पनि लोचनले नै गर्दैछन्।
विभाग प्रमुख लोचनले भने, ‘सुरुदेखि नै केयू संगीत विभागले मूर्त तथा अमूर्त संस्कृतिको सम्मिश्रणको काममा जोड दिँदै आएको छ। समको जन्मघरको संरक्षण, प्रवद्र्धन गर्दै नयाँ पुस्तामा उहाँको बौद्धिक विरासत हस्तान्तरण गर्ने हाम्रो योजनामा पनि यस्तै सम्मिश्रण भेटिनेछ।’
नेपाली संगीतमा विभिन्न जातजातिका लोपोन्मुख बाजा, धुन र लयको प्रयोग गरेर ख्याती कमाएका लोचन काठमाडौं विश्वविद्यालयमै अध्ययन गरेर यहाँको संगीत विभाग प्रमुख बनेका हुन्।
उनले केयूमा स्नातकोत्तर गरेर इथ्नोम्युजिकोलोजीमा अमेरिकाको युनिभर्सिटी अफ मासाचुसेट्सबाट विद्याविद्यावारिधि गरेका हुन्। इथ्नोम्युजिकोलोजीमा विद्याविद्यावारिधि गर्ने पहिलो बन्न सफल लोचन केयूले नयाँ पुस्तालाई नेपालको कला, संस्कृति र जातीय परम्पराको जगेर्नामा सक्रिय हुन प्रेरित गरेको बताउँछन्। ‘यसको एउटा उदाहरण म आफैं हुँ जस्तो लाग्छ,’ उनले भने।
लोचनले विगतमा राजामहाराजा, दरबार र सरकारी संरक्षणमा नेपाली कला संस्कृति संरक्षणको अभ्यास भएको बताए। उनले मल्लकालीन कार्तिक नाच, मेलवादेवी, टिएल राणालगायत पञ्चायतकालका कलाकारलाई राज्यले दिएको संरक्षणलाई यसको उदाहरण मान्न सकिने बताए।
उनले यसै सन्दर्भमा भने, ‘तर राज्यको संरक्षकत्वको दायरा फराकिलो रहेछ। विश्वविद्यालयबाटै भएको यो प्रयासले कला, संस्कृतिको बौद्धिक र सामाजिक हस्तान्तरणको दायरा अझ फराकिलो हुनेछ।’
विश्वविद्यालयका तर्फबाट उपकुलपति श्रेष्ठ र विभाग प्रमुख लोचनको प्रस्तुतिपछि सहभागीमध्ये केहीले आफ्नो धारणा राखे। लेखक नगरकोटी भावी पुस्ताले बालकृष्ण समको व्यक्तित्व चिन्न र उनको योगदानबारे बुझ्न केयूको यो कदमले मद्दत गर्ने धारणा राखे।
'कोमा' र 'बाथटब'जस्ता चर्चित नाटक लेखेका नगरकोटीले भने, 'नाट्य क्षेत्रका हस्ती समको जन्मघरमा पहिलो पटक पाइला टेक्न पाउँदा रोमाञ्चित भएको छु।'
अभिनेता सुनिल थापाले भने, ‘बालकृष्ण समका कृतिमा प्रेमपिण्डजस्तो राम्रो सिनेमा बनेको छ। उहाँको यो जन्मघर र उहाँका कामको संरक्षण हुँदा भोलिका दिनमा उहाँका कृति र जीवनीबारे अझै राम्रा सिनेमा बन्न सक्ने भएकोले केयूको यो पहल सिनेमा क्षेत्रकै लागि पनि महत्वपूर्ण लागिरहेको छ।’
समको यो घरको कलाशैली कला, साहित्यबाहेक पुरातात्विक हिसाबले पनि महत्वपूर्ण छ। केयूका तर्फबाट गायक रिजालले यस घरको कलात्मकता र मौलिकता कायम राख्दै पुनर्निर्माण गरिने जानकारी दिए।
नेपाली नाटक विधामा उल्लेख्य योगदान गरेका समका मुकुन्द-इन्दिरा, चिसो चूल्हो, प्रेमपिण्ड, आगो र पानीलगायत कृति चर्चित छन्। नाटक र कविताबाहेक वैचारिक निबन्ध लेखनमा समेत छाप छोडेका समले गोरखाभाषा प्रकाशन समितिको अध्यक्ष, गोरखापत्रको सम्पादकलगायत नेपाली भाषा साहित्य क्षेत्रका महत्वपूर्ण पदमा रहेर महत्वपूर्ण योगदान दिएका छन्। १९५९ साल माघ २४ मा जन्मेका समको २०३८ सालमा निधन भएको थियो।