आज बिहीबारदेखि देशभरका सिनेमा घरमा नयाँ नेपाली फिल्म सार्वजनिक भएको छ। करिब दस महिनाको प्रतीक्षापछि सिनेमा हलमा नयाँ नेपाली फिल्म सार्वजनिक भए पनि पहिलो दिन दर्शकको उपस्थिति उत्साहजनक देखिएन।
आजैदेखि प्रदर्शनमा आएको नयाँ फिल्म 'मास्टर' हेर्न भने दर्शक उत्साहित देखिएका छन्। यो तमिल फिल्म पाँच भाषामा बनाइएको छ।
त्यस्तै नेपाली फिल्म 'एउटा यस्तो प्रेम कहानी'को बुकिङ सोचे जति भएन।
'नेपाली फिल्म भएर होला, प्रत्येक सोमा जम्मा ६-७ जना मात्र दर्शक भए,' बानेश्वरस्थित वान सिनेमा घरका सुपरभाइजर सुजित गुइडेलले सेतोपाटीलाई भने। सुपरभाइजर सुजितका अनुसार 'मास्टर'का लागि भने बुकिङ फूल भइरहेको छ। ५० प्रतिशत मात्र दर्शक राख्न पाउने भएकाले आएका सबै बुकिङ लिन नसकिरहेको पनि बताए।
'हिजोअस्तिको तुलनामा आज हलमा बढी दर्शक छन्। फिल्म मास्टरका लागि हाउसफूल छ भन्दा फरक पर्दैन। तर नेपाली फिल्ममा दर्शक छैनन्,' उनले भने।
वान सिनेमा हलमा आज पाँच सो थियो। त्यसमध्ये तीन वटा नेपाली फिल्म 'एउटा यस्तो प्रेम कहानी' का लागि थियो र बाँकी दुई हिन्दी फिल्म 'मास्टर'। क्युएफएक्स, लबिम मलका म्यानेजर विवेक काफ्लेका अनुसार भने तुलनात्मक हिसाबले नेपाली फिल्म हेर्न आउने दर्शक आज बढेका छन्।
लबिमको क्युएफएक्समा आज 'एउटा यस्तो प्रेम कहानी'का दुइटा सो थिए। बिहान सवा ११ बजे बुक-सो थियो। यसमा फिल्म निर्माण टोली उपस्थित भएर प्रिमियर सोका रूपमा चलाइयो। सोमा सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको पनि उपस्थिति रहेको विवेकले जानकारी गराए। अर्को सो साढे ३ बजेको थियो। विवेकका अनुसार जम्मा २० जना दर्शक भए।
शक्ति श्रेष्ठ र कविता मानन्धरको 'डेब्यू' फिल्म 'एउटा यस्तो प्रेम कहानी' महामारीका कारण बन्द सिनेमा हल खुलेपछिको पहिलो सार्वजनिक फिल्म हो। चर्चित कलाकार शिव श्रेष्ठ र करिश्मा मानन्धरका छोराछोरीसँगै पर्दामा देखिन लागेकाले यो फिल्मबारे धेरैको चासो छ।
'एउटा यस्तो प्रेम कहानी'ले कस्तो प्रतिक्रिया पाउला भन्ने हेर्न बाँकी नै छ। हल व्यवसायीहरू शनिबारको दिन भने दर्शकको संख्या बढ्ने सक्ने आशामा छन्। फिल्ममा शक्ति र कवितासँगै शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ। शिव श्रेष्ठ फिल्मका निर्माता पनि हुन्।