गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को डिजिटल अडिसनमा नेपालसहित बिभिन्न देशबाट करिब ४० हजार प्रतिभाले सहभागीता जनाएका छन् ।
करिब एक महिनासम्म चलेको अडिसनमा नेपालसहित बिभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाले उत्साहजनक सहभागीता जनाएका हुन्। भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीमूलका प्रतिभा पनि यो अडिसनमा सहभागी भएका छन्। अडिसनमा सहभागी प्रतिभाको संख्या अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो।
‘अडिसनमा सहभागी हुने प्रतिभाको संख्या र गायकी दुवै हिसावले निकै उत्साहजनक देखिएको छ,’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने, ‘भूगोल र विविधतामा राम्रो प्रतिनिधित्व भएको छ।’
डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनोटपछि कुल १ सय २० जना प्रतिभाले कोचका अगाडि ब्लाइन्ड अडिसनमा प्रस्तुति दिन पाउनेछन्। ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाको सांगीतिक यात्रा त्यहीँबाट सुरू हुनेछ। हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन्।
कार्यक्रम उत्पादनका लागि तिब्र गतिमा काम भइरहेको र आगामी एक महिनाभित्रै सिजन ३ को प्रसारण सुरु हुने हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए। कार्यक्रम हरेक शुक्रबार र शनिवार राति ८ बजे प्रसारण हुने छ ।
नयाँ कोचमा तृष्णा गुरुङ
द भ्वाइस अफ नेपालको तेस्रो सिजनमा अनुबन्ध भएका कोचहरुसमेत आजै सार्वजनिक गरिएको छ। अघिल्ला दुई सिजनमा कोच रहेका दीप श्रेष्ठ र प्रमोद खरेलले लगातार तेस्रो वर्ष पनि निरन्तरता पाएका छन्।
नयाँ कोचमा अनुबन्ध भएकी गायिका तृष्णा गुरूङ लोकपप शैलीका गीतमार्फत् नेपाली युवापुस्ताका दर्शकमाझ लोकप्रिय छिन्। गायनसँगै उनको पहिचान गीतकार र संगीतकारका रुपमा पनि स्थापित छ। गाइने दाजैले सारङ्गी रेट्दैमा, माया पिरती, गुराँशै फुल्यो लगायत थुप्रै गीत दर्शकले रूचाएका छन्।
गत वर्ष अनुबन्ध भएका कोच राजु लामा पनि यो बर्ष कोचका रुपमा पुनः आउने छन्। नयाँ कोचमा गायिक तृष्णा गुरुङ अनुबन्ध भएकी छन्। निकै चर्चित गीतहरुमार्फत नेपाली सांगीतिक जगतमा स्थापित लोकप्रिय गायिका गुरूङले यसपटक आफ्नो टीममार्फत् अन्य कोचसँग प्रतिस्पर्धा गर्नेछिन् ।