‘टन्सिल’, सुन्दा सामान्य बिरामी। केटाकेटी उमेरमा प्रायः मानिस यसबाट गुज्रिरहेकै हुन्छन्। तर, सबैको अवस्था उस्तै हुँदैन।
तथ्यांक अनुसार समयमै उपचार नगर्दा यसले बर्सेनि नेपालका एक हजार बालबालिकाको ज्यान लिइरहेको छ। त्यसैगरी बर्सेनि आठ सय जनाको मुटुको भल्भ फेर्नुपर्ने अवस्था छ। यसबाट हुने मुटुको रोगीलाई सरकारले निःशुल्क शल्यक्रियाको बन्दोबस्त गरिदिए पनि यसको रोकथामका पहल भने अहिलेसम्म पनि अघि बढ्न सकेको छैन।
त्यसैले यो अवस्थाको निराकरण होस् भन्ने उद्देश्यले चिनिएका मुटुरोग विशेषज्ञ डा.
ले यो विषयलाई स्पष्ट पार्नेगरी किताबै तयार पारेका छन्। मुटुरोग दिवसका अवसर पारेर पुस्तक ‘टन्सिलले बिगारेको मुटु’को विमोचन मंगलबार संस्कृतिविद् सत्यमोहन जोशीले गरेका हुन्।
महामारीको संकटग्रस्त अवस्थालाई मध्यनजर गरेर जोशीको बखुम्बहालस्थित निवासमै सानो जमघटका बीच विमोचन सम्पन्न भएको थियो।
डा. रेग्मीका अनुसार ‘बाथ–मुटुरोग’ गरिबी र अशिक्षाबाट प्रताडितहरुको मुद्दा हो। यसको सबैभन्दा ठूलो शिकार विपन्नतामा हुर्किएका बालबालिकाहरु भइरहेका छन्।
‘सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने यो रोगबारे ९९ प्रतिशत मानिस अनभिज्ञ नै छन्,’ पुस्तकका लेखक डा. रेग्मी भन्छन्, ‘यो रोगबाट अशक्त भइ विरामी अवस्थामा जीवन बिताउनेहरु असंख्य छन्।’
जनचेतनामा अभिवृद्धि मात्र गराउने हो भने यो घातक रोगबाट हजारौं बालबालिकाको मृत्युदेखि लिएर त्योभन्दा पनि ठूलो संख्यामा अशक्त जीवन बिताउन बाध्यहरुको अवस्था फेर्न सकिने डा. रेग्मी दाबी गर्छन्।
‘मैले त्यसै कारण यो पुस्तक लेखेको हुँ,’ विमोचन समारोहमा बोल्दै डा. रेग्मीले भने, ‘टन्सिल देखिएकै बेला सामान्य उपचार गरियो भने विरामीको अवस्था बेलैमा विकराल हुनबाट जोगिन्छ।’
पुस्तकमा लेखक डा. रेग्मीले बाथ मुटु रोगीका विविध पक्षलाई मिठोसँग भाषा र शैली मिलाएर लेखेको प्रमुख अतिथि जोशीले समारोहमा उल्लेख गरे।
‘डाक्टरले लेखेको किताब भएकाले प्राविधिक होला भन्ठानेको थिएँ,’ जोशीले भने, ‘तर, पढ्दै जाँदा सामान्य पाठकका निम्ति पनि रोचक पुस्तक रहेछ।’
यसरी सर्वसाधारणको रुचीलाई समात्दै स्वास्थ्यका गहन विषयहरु बुझाउने यस्ता धेरै किताबहरु आउनु जरुरी रहेको जोशीले उल्लेख गरे।
डा. रेग्मीले यस पुस्तकमा नेपालमा मुटु रोगको उपचारको स्थापना र विकाससँगसँगै यसका संघर्षका कथाहरु पनि समेटेका छन्।
पुस्तकको प्रकाशन ‘नेपाल हार्ट फाउण्डेसन’ले गरेको हो।
‘थुप्रै बालबालिकाको ज्यान जोगाउने उद्देश्यले लेखिएको यो पुस्तक दिर्घायू भएका मुलुककै परिचित संस्कृतिविद्को हातबाट विमोचन गराउन पाउँदा खुशी लागेको छ,’ फाउण्डेसनका सदस्य डा. खेम कोइराला ‘बन्धु’ले समारोहमा भने।
तीन सय पृष्ठको पुस्तकको मूल्य तीन सय पचास रुपैयाँ राखिएको छ। पुस्तकको विक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम ‘बाथ–मुटुरोग’ रोकथामका लागि स्थापना गरिएको कोषमा जम्मा गरिने प्रकाशकले जनाएका छन्।
तीन दसकदेखि मुटु रोगका क्षेत्रमा क्रियाशील डा. रेग्मीले यसअघि पनि विभिन्न विधामा झण्डै एक दर्जन पुस्तक लेखिसकेका छन्।