९३ औं एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ।
समितिले सोमबार विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोज २९ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको हो।
हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अस्कार अवार्ड यसपटक भने कोरोना महामारीका कारण दुई महिना पछाडि धकेलिएको थियो। यस वर्ष अप्रिल २५ का दिन लस एञ्जल्सको डल्बी थिएटरमा अस्कर अवार्ड सम्पन्न हुनेछ। महामारीकै कारण अस्करले फिल्म सहभागिता सम्बन्धी नियममा फेरबदल गरेको नेपालको अस्कर कमिटीका अध्यक्ष विमल पौडेलले जानकारी दिए।
अघिल्ला वर्षमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो। तर, यो साल हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन्। यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्नेछ।
त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन्।
नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ। जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, चिरञ्जीवी गुरागाईं, सामीप्यराज तिमल्सेना र राजुविक्रम थापा सदस्य रहेका छन्।