साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने निर्णय सार्वजनिक गरेका छन्। सोमबार उनले एक विज्ञप्ति जारी गर्दै आफूलाई दिइएको सम्मान नलिने जनाएका हुन्।
आइतबार खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको 'पद्मश्री साधना सम्मान' साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो। उक्त पुरस्कारको घोषणालगत्तै सामाजिक सञ्जालमा मोदनाथ प्रश्रितलाई सम्मान गर्ने कुरा विवादित बनेको थियो।
शारदा भुसालले आफ्नो आत्मकथा 'धरातल'मा राजनीतिज्ञ तथा लेखक प्रश्रितले आफूलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन्। यही कारण देखाउँदै सामाजिक सञ्जालमा यौनशोषणको आरोप लागेका प्रश्रितलाई सम्मान गर्न लागिएको भन्दै आलोचना भएको थियो। प्रश्रितले भने यो आरोप खण्डन गर्दै आएका छन्।
प्रश्रितसँगै उपन्यास 'हंस' का लागि 'पद्मश्री साहित्य पुरस्कार' पाएका आख्यानकार सञ्जीव उप्रेतीले मोदनाथसँग एउटै मञ्चमा पुरस्कार नलिने घोषणा गरे। प्रश्रितले यही आरोपको सन्दर्भमा विज्ञप्ति निकालेका हुन्।
'मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु,' आफ्नो हस्ताक्षरसहितको विज्ञप्तिमा उनले भनेका छन्, 'पद्मश्री साधना सम्मानको सूचना सार्वजनिक भएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु।'