यस वर्षको पद्मश्री साहित्य सम्मान ‘हंस’ उपन्यासका लागि सञ्जीव उप्रतीलाई प्रदान गरिने भएको छ।
खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले तीन लाख रुपैयाँ राशीको सो पुरस्कार उप्रेतीलाई दिने निर्णय गरेको हो।
‘हंस’ उपन्यासमा उप्रेतीले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरेका छन्।
त्यस्तै, यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिइने भएको छ। विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका प्रश्रितलाई उक्त सम्मान दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ।
२०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार र २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ।
पुरस्कार तथा सम्मान हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिँइदै आएकोमा यस पटक विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।