गायक ब्रबिम शेर्माको स्वरमा रहेको गीत ‘ज्यानै हाजिर भो’ सार्वजनिक भएको छ। गत सोमबार युट्युब मार्फत गीत सार्वजनिक गरिएको हो।
लिम्बू संस्कृतिलाई आधार बनाएर तयार पारिएको गीतमा संगीत तथा शब्द राजन मुकारुङको रहेको छ। किरण चाम्लिङको निर्देशन रहेको भिडियोमा गायक शेर्मा तथा इक्शा मादेनले अभिनय गरेका छन्।
उपन्यास र कविता लेखनमा सक्रिय मुकारुङ पछिल्लो समय गीत लेखन तथा संगित सिर्जनामा समेत सक्रिय छन्। ‘नेपाली गीत संगीतमा नयाँ प्रयोग गर्ने प्रयास स्वरुप रैथाने शब्दहरु राखेर गीत सिर्जना गरिएको हो,’ मुकारुङले भने।
करिब डेढ दशकदेखि संगीतमा सक्रिय गायक शेर्मा विशेष गरेर लिम्बू भाषाकोे गीतका कारण दर्शक स्रोतामाझ परिचित छन्। लिम्बू भाषामा एक सयभन्दा धेरै गीत गाइसकेका शेर्माले नेपाली भाषामा समेत तीन दर्जन जति गीतमा स्वर दिइसकेका छन्।
लिम्बू भाषाको गीतमा सक्रिय शेर्मा लिम्बू गीतकै कारण परिचित छन्। ‘मेरो आत्मैबाट लिम्बू गीत गाउँदा जति सहज हुन्छ, नेपाली गीत गाउँदा उति सहज हुँदैन, शेर्मा भन्छन्। त्यही भएरै अहिले सार्वजनिक भएको ‘ज्यानै हाजिर भो’ गीतमा समेत लिम्बू जनजीवनमा प्रचलित शब्द प्रयोग गरिएको छ।
शेर्मा अनुसार लिम्बू संस्कृति र भाषालाई मूलधारको नेपाली भाषामा ल्याउन पनि नेपाली र लिम्बू शब्द गीतमा प्रयोग गरिएको हो।
गीतको भिडिओ च्याब्रुङ नाचलाई केन्द्रमा राखेर निर्माण गरिएको छ। भिडिओ मार्फत गाउँ छाडेर बाहिरिन बाध्य मानिसहरुको कथालाई प्रस्तुत गर्न खोजिएको म्यूजिक भिडियो निर्देशक चाम्लिङले बताए। उनले भने, ‘लिम्बु समुदायलाई प्रतिनिधि बनाउँदै, सिंगो नेपाली समाजले भोगिरहेको व्यथालाई प्रस्तुत गर्ने प्रयास गरेको हुँ।’
पाँचथरका विभिन्न स्थानको दृश्य खिचिएको भिडिओको छयांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन्।