गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण देखिएको छ। यसबारे उनी आफैंले फेसबुकमार्फत जानकारी गराएका हुन्।
उनले शनिबार फेसबुकमा स्टाटस लेख्दै आफूलाई संक्रमण देखिएको र आइसोलेसनमा रहेको बताएका छन्। त्यस्तै आफ्नो सम्पर्कमा आएका अन्य सबैलाई सचेत हुन र परीक्षण गर्न अनुरोध समेत गरेका छन्।
लोचनले धुलिखेल अस्पतालबाट कोरोना जाँच गराएका हुन्। आफूमा लक्षण देखिएपछि उनी धुलिखेलमा कोरोना जाँच गराउन पुगेको सेतोपाटीलाई टेलिफोन संवादमा बताए।
'गत मंगलबारदेखि टाउको दुख्ने, ज्वरो आउने, जिउ गलेजस्तै हुने भएपछि कोरोना पो हो कि भन्ने लागेर परीक्षणका लागि बिहीबार बेलुका धुलिखेल अस्पताल आएको थिएँ,' उनले भने, 'शुत्रबार बिहानै अस्पतालमा स्वाब दिएँ। बेलुका नै कोरोना पोजेटिभ भन्ने रिपोर्ट आयो।'
आफूमा कोरोना पुष्टि भएसँगै उनले परिवारसँग सम्पर्क राखे। अहिले उनी धुलिखेल अस्पतालबाट ३ किलोमिटर टाढा चौकोटस्थित होटलमा आइसोलेसनमा छन्।
गत साताको तुलनामा लोचनको स्वास्थ्यमा अहिले सुधार आएको छ। जिउ नगल्ने भए पनि गर्मी र जाडो हुने, तापक्रममा घटबढ हुने, श्वाप्रश्वासमा केही असजिलो हुने भने भइरहेको उनले बताए।
लोचनकी श्रीमती र छोरी अहिले काठमाडौंमै छन्। उनीहरूको पनि सोमबारसम्म पिसिआर परीक्षण गराइने उनले जानकारी दिए।
अहिले लोचनलाई निको हुँदै जादा आफू 'भ्याकेसन' मा पो हो कि भन्ने महशुस गरिरहेको बताउँछन्। आइसोलेसनमा आफैं खाना-खाजा बनाएर खान्छन्। सुरूका दिनमै उनलाई अस्पतालले हप्ता दिनलाई पुग्ने खाद्यान्न सामग्री पुर्याइदिएका रहेछन्। कुनै पनि स्वास्थ समस्या भएमा नजिकै डाक्टर तथा नर्स छन्।
'दिनभरी यसै बस्न नसक्ने, त्यसैले गीत-संगीतसँगै व्यस्त हुन्छु। यहाँबाट निको भएर काठमाडौं गएलगत्तै नयाँ कम्पोजिसनमा लाग्ने सोच छ,' उनी बताउँछन्।
'सुखःदुख', 'चन्द्रमा', 'समाज' र 'चेतना' लगायत केही लोचनको मन पराइएका गीत हुन्। लोचन काठमाडौं विश्वविद्यालयमा नेपाली लोक तथा जातजातिका गीत-संगीतको प्रबन्धनमा काम गर्ने एक कुशल कलाकार हुन्।