तीन महिनाअघि अमेरिका जाँदा केकी अधिकारीले अभिनयसम्बन्धी एउटा किताब किनेकी थिइन्। नेपाल आएपछि पढूँला भन्ने थियो, कामको चापाचापले फर्केको धेरै दिनसम्म थाती रह्यो।
त्यो किताब अझै पनि यसै रहन्थ्यो होला, कोरोना लकडाउन नभइदिएको भए।
दस वर्ष लामो व्यस्ततापछि फुर्सदिलो समय बिताउन पाएकी केकीको अहिले तीनवटा काम छ- पढ्ने, फिल्म हेर्ने र बुवासँग बसेर दन्त्यकथा सुन्ने।
व्यस्तताका कारण हेर्न छुटेका तथा हेर्न मन लागेका फिल्म गहिरिएर हेर्छिन् उनी। अमेरिकाबाट ल्याएको किताब पढ्दै अभिनय अभ्यास गर्छिन्।
किताबमा उल्लिखित सैद्धान्तिक पक्षलाई विभिन्न कलाकारको अभिनयसँग दाँजेर अध्ययन गर्दा नयाँ-नयाँ शैली सिक्ने मौका पाएको उनी बताउँछिन्।
बुवासँग बसेर दन्त्यकथा सुन्ने बानी भने सानैदेखिको हो। सानामा बुवाले सुनाएका राजा-रानीका कथाले नै कला क्षेत्रतर्फ झुकाव बढेको उनको भनाइ छ। बीचमा लामो समय त्यो बानी छुटेको थियो। लकडाउनले फेरि मौका जुराइदिएको छ।
'बुबाको मुखबाट दन्त्यकथा सुन्दा मलाई मेरो बाल्यकाल फर्केझैं लागेको छ,' केकीले भनिन्, 'सानामा सुनेका धेरै कथा बिर्सिसकेकी रहेछु। अहिले पुराना याद ताजा भइरहेको छ।'
उनले अगाडि भनिन्, 'कतिपय कथा त यति चाखलाग्दा छन्, पछि दन्त्यकथाको सिरिज नै बनाउन सकिन्छ। म यसबारे सोच बनाइरहेकी छु।'
सानैदेखि कथा सुन्ने बानीले केकीलाई फिल्म लेखनमा पनि रूचि छ। उनी लकडाउनकै फुर्सदमा पटकथासम्बन्धी अनलाइन कक्षा लिइरहेकी छन्। यो अध्ययनले दन्त्यकथाको सिरिज लेख्न सघाउने उनी बताउँछिन्।
'कथा र लेखहरू पहिले पनि लेख्थेँ, तर पटकथा कक्षामा बसेपछि त्यसलाई फिल्ममा कसरी ढाल्ने भनी सिकिरहेकी छु,' उनले भनिन्।
यही क्रममा अचेल सिरिज धेरै हेर्न थालेकी छन्। विशेषगरी पाकिस्तानी सिरिज हेर्न मन पराउँछिन्। भन्छिन्, 'पाकिस्तानी सिरिज सानैदेखि हेर्थें। उर्दू भाषा मिठो लाग्थ्यो। अहिले फेरि हेर्दा बाल्यकालमा फर्किएको महशुस हुन्छ।'
केकीलाई सुरूमा लकडाउनका दिन काट्न गाह्रो भएको थियो। केही नगरी घरै बस्दा दिमागमा अनेकौं कुरा खेल्थे। टाउको भारी हुन्थ्यो। समय र परिस्थितिअनुसार विस्तारै यही दिनचर्यामा घुलमिल हुन थालेको बताउँछिन्।
'अहिले संसारै लकडाउनमा छ। यो हामी सबैका लागि चुनौती हो,' उनले भनिन्, 'यसलाई कसरी अवसरका रूपमा लिने भनेर हामीले आ-आफ्नो ढंगले सिर्जनात्मक काममा हात हाल्नुपर्छ।'
उनी युट्युब हेर्दै नयाँ-नयाँ परिकार बनाउन पनि सिकिरहेकी छन्। 'अरू बेला खासै जाँगर आउँदैन थियो। अहिले थाहा पाएकी छु, मान्छेलाई खुसी पार्न ठूलो काम गर्नै पर्दैन रहेछ। हाम्रो सानो प्रयासले नै अरूको मुहारमा मुस्कान ल्याउन सकिने रहेछ,' उनले भनिन्।
केकीले आफ्नै युट्युब च्यानलमा 'कोरोना टक सेसन' सुरू गरेकी छन्। त्यसमा उनी विभिन्न व्यक्तिसँग सम्बन्धित विषयबारे कुराकानी गर्छिन्।
'मलाई पहिलेदेखि युट्युब च्यानल खोलेर सबैलाई चासो र उपयोगी हुने विषयमा कन्टेन्ट बनाउन मन थियो। लकडाउन मेरो लागि राम्रो अवसर बन्यो,' उनले भनिन्, 'यो सेसन एउटा परीक्षणका रूपमा पनि थियो। दर्शकहरूले मन पराउनुभयो।'
उनले पहिलो शृंखलामा एक अधिवक्तालाई बोलाएकी थिइन्, जसमा उनले सर्वसाधारणका जिज्ञासा भएका सामान्य कानुनी विषयमा कुराकानी गरिन्।
लामो दौडधूपपछि लकडाउनले केकीलाई आराम गर्ने समय पनि दिएको छ। आराम गर्दागर्दै सुटिङ भने 'मिस' हुन थालेको उनी बताउँछिन्।
'मलाई सुटिङ सेटको होम-सिकनेस हुन थालेको छ। घरभन्दा बढी समय काममा बिताएकाले त्यो नै मेरो घर र त्यहाँका सहकर्मी मेरा परिवार थिए। घरमा बरू त्यति खुलेर बोल्दिन थिएँ, जति सुटिङ सेटमा बोल्थेँ,' उनले भनिन्, 'फेरि त्यो समय कहिले फर्केलाजस्तै भएको छ।'
आमाबुवासँग समय बिताउन पाउनुले उनी यसै पनि दंग छिन्। पहिलेजस्तो बिहान छिटो उठेर काममा दौडिनुपर्ने हतार नभए पनि पुरानो बानी नबिगारेको उनी बताउँछिन्।
'लकडाउनले मेरो सुत्ने-उठ्ने समय खलबलिएको छैन। अरू बेला सबेरै उठेर जिम जाने वा सुटिङमा जाने हतार हुन्थ्यो। अहिले त्यही मात्र फरक हो,' उनले भनिन्, 'आठ बजे उठ्छु। व्यायाम गर्छु। ११ बजेतिर खाना खान्छु र बाँकी समय फिल्म हेर्छु। नयाँनयाँ परिकार पकाउँछु र आफ्नो अभिनय शैली कसरी राम्रो बनाउने भनेर सिकिरहेकी छु।'
उनले अगाडि भनिन्, 'लकडाउन भएपछि केही काम नगरूँला कि भन्ने डर थियो, त्यसो भएन। अधूरा काम सबै पूरा गर्न पाएँ।'