प्रवासिएका नेपालीको नालीबेली बयान गर्ने पुस्तक ‘नेपाली प्रवासन’ को शुक्रबार यलमाया केन्द्रमा विमोचन गरिएको छ।
लामो समय हिमाल खबरपत्रिकामा रहेर यसै विषयमा कलम चलाएका पत्रकार डम्बरकृष्ण श्रेष्ठले सिलसिलाबद्ध रिपोर्टिङ संग्रहका रूपमा यो पुस्तक तयार पारेका हुन्। यसले नेपालीहरूको आप्रवासनदेखि वैदेशिक रोजगारका विभिन्न पाटा बुझ्न मद्दत गर्छ।
बाह्रौं शताब्दीमा कलाकार अरनिकोदेखि पछिल्लो समय गोर्खा भर्तीमा लर्को लागेका तन्नेरी हुँदै रोजगार, शिक्षा र बसोबासका लागि विदेशिने नेपालीहरूको ठूलै लहर तयार भइसकेको जानकारी उक्त अवसरमा वैदेशिक रोजगार अनुसन्धाता गणेश गुरुङले दिए।
‘लाहुर जानेहरूको सहर धरानबाटै पत्रकारिता सुरू गरेका डम्बरजी र उहाँको विषयगत रिपोर्टिङबाट म लामो समयदेखि परिचित छु,’ गुरुङले भने, ‘अधिकांशका हकमा स्वदेशमा रोजगारको न्यून अवसरकै कारण विदेशिन बाध्य भएका ४० लाख नेपालीहरूबारे हामीकहाँ अझै पर्याप्त अध्ययन अनुसन्धानको खाँचो छ।’
हिमाल खबरपत्रिकामा निरन्तर प्रवासिएका नेपालीहरूबारे कलम चलाएका पत्रकार श्रेष्ठको यो पुस्तक आमपाठक, सरकारी निकायमा रहेर नीति निर्माण तहमा रहेका मानिस, असुन्धाता, वैदेशिक रोजगारमा चाख राख्ने अध्येता र यस क्षेत्रको सुधारका लागि पैरवी गर्नेहरू सबैका निम्ति पुस्तक पठनीय रहेको गुरुङले बताए।
कार्यक्रममा पत्रकार राजेन्द्र दाहालले वैदेशिक रोजगार ‘बिट’ मा काम गरेर त्यसैमा विशेष दक्षता हासिल गरेका श्रेष्ठको यो पुस्तक नेपालीको सपना र बाध्यता, तिनका कष्ट, उपलब्धि, आँट एवं औकात दर्शाउने सूचना र विवरणको पोको रहेको जानकारी दिए।
प्रवासन विज्ञ सरु जोशी श्रेष्ठले वैदेशिक रोजगारमा जानेबित्तिकै महिलाहरूलाई आम रूपमा लाञ्छित गर्ने प्रवृत्ति भइरहेका बेला उनीहरूले गरेका सम्मानजनक कार्यको विवरण र अझ कतिपयले त नेपालमा फर्केर सफल व्यावसायसमेत अघि बढाएको समाचारले परिस्थिति फेर्न मद्दत गरेको उल्लेख गरिन्।
कार्यक्रममा हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपालले डेढ दशकभन्दा लामो समय यस विषयको सेरोफेरोमा गम्भीर रिपोर्टिङ गरेका श्रेष्ठले वैदेशिक रोजगारप्रति धेरै नकारात्मक धारणा बदल्न मद्दत गरेको बताए।
सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी, सोसल साइन्स बहाःका लागि हिमाल किताबले प्रकाशन गरेको यस पुस्तकको मूल्य ३ सय ९० रुपैयाँ राखिएको छ।