लोकशैलीमा आधारित गीतहरु गाएर चर्चामा आएको 'कन्दरा' समूहका गायक विवेक श्रेष्ठ पोखरा छोडेर विदेशमा बस्न थालेको अठार वर्ष भइसकेको छ। जन्मथलो पोखराबाट टाढा रहेर पनि उनले संगीत क्षेत्रलाई चटक्कै माया मार्न भने सकेनन्। प्रवासमा बसेर पनि नेपाली संगीतमा सधै केही नयाँ काम गरिरहेका उनी यतिबेला नयाँ सोचसहित अन्तर्राष्ट्रिय स्तरको कन्सर्ट गर्ने तयारीमा छन्।
पछिल्लो समय अष्ट्रेलियामा बस्दै आएका विवेक केही समयका लागि नेपाल आएका छन्। हिजो आइतबार उनले पत्रकार सम्मेलन आयोजना गरी त्यही नयाँ सोचबारे जानकारी दिए।
उनले भने, ‘हाम्रो पुस्ता जसको संगीत सुनेर हुर्कियो, जसका गीत गुनगुनाउँदै हामी हुर्कियौं, उहाँहरुकै गीतहरु गाउने संगीत शृंखला सुरु गर्दैछु।’
आगामी फेब्रुअरीमा अष्ट्रेलियामा आयोजना हुने यो कार्यक्रमलाई 'युफोनिक: क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ' नाम दिइएको छ। गीत सुन्नेभन्दा हेर्ने र रमाइलो गर्ने माध्यमका रुपमा लिइएको बेला यो कन्सर्ट श्रवणीय, अनुशासित र विश्वस्तरीय हुने उनको दाबी छ। विज्ले कन्फेरेन्स एन्ड थिएटर सिड्नीमा आगामी फेब्रुअरी १५ र अष्ट्रेलियामा भएको एमटिभी अनप्लग्डको पहिलो कार्यक्रमको सभा हल मिट मार्केट मेल्बर्नमा फेब्रुअरी २२ मा हुने सो कार्यक्रमलाई ग्रेस इन्टरनेसनल एडुकेसन एन्ड माइग्रेसनको मुख्य प्रायोजन गरेको छ।
कार्यक्रमको परिकल्पनाकार विवेकले अष्ट्रेलियापछि यो कन्सर्ट नेपाल र अरु देशहरुमा पनि गरिने जानकारी दिए। प्रवासमा नेपाली जनसंख्या बढिरहेकोले नेपाली संगीत विदेशी भूमिमा पनि फैलिइसकेको उनले दाबी गर्दै गरे। उनले आफ्नो परिकल्पना कार्यक्रमभन्दा पनि विदेशमा रहेका नेपालीमाझ राम्रा र गुणस्तरीय संगीतको प्रचारप्रसार गर्ने अभियान भएको बताए।
उनले भने, 'यो कार्यक्रम मूलतः विदेशमा बस्ने नेपाली लक्षित हो नै, नेपाली सुगम संगीतको मूलधारलाई नयाँ पुस्ताका माझमा प्रस्तुत गर्नु पनि हो। विदेशमै जन्मिएका नेपाली नयाँ पुस्तालाई नेपाली गीत-संगीत एउटा स्तरीय कार्यक्रममार्फत सुन्ने अवसर पनि हो।
विदेशमा नेपाली कलाकारले प्रस्तुत गर्ने कार्यक्रमको स्तर खस्कंदै गएको र स्तरीय कार्यक्रम हुनु जरुरी रहेको भन्दै विवेक भन्छन्, 'यो कार्यक्रम हामीले नेपाली संगीतको पुनरुत्थान, जगेर्ना र सांगीतिक चेतनाका लागि पनि गर्न लागेका हौँ। अमेरिकी, भारतीय वा कुनै विश्वस्तरीय सांगीतिक कार्यक्रमभन्दा यो कमजोर हुनेछैन। नेपालको पोखरामा क्रियाशील वाद्यवाधकहरूले यसलाई जीवन्त बनाउन साथ दिनुहुनेछ।
प्रवासमा रहेका नेपालीहरूमा नेपाली संगीत, नेपाली भाषा र संस्कृतिप्रति अथाह माया, सद्भाव र लगाव छ। नेपालमा भैरहेका संगीत रियालिटी शोहरूलाई त्यो स्वरूपमा प्रस्तुत गर्न पनि प्रवासीहरूको अहम भूमिका छ अब प्रवासमा पनि गुणस्तरी कन्सर्ट गर्ने समय आएको छ,' उनले भने 'मपछि नयाँ पुस्ताका अन्य कलाकारले पनि काठमाडौँदेखि संसारका विभिन्न मुलुकमा यो अभियानमा प्रस्तुति दिनुहुनेछ।'
पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रूपमा बोल्दै गीतकार एवं चलचित्र निर्देशक यादव खरेलले भने, 'नेपाली संगीत र पुराना श्रष्टाका सृजना र चर्चा हराउंदै गएको यो बेलामा विवेकजीले गर्न लाग्नुभएको यो अभियान सराहनीयमात्रै छैन, स्तुत्य पनि छ। यसले पुराना सृजनालाई नयाँ पुस्तासँग जोड्न सेतुको काम गर्ने विश्वास छ।'
त्यस्तै कार्यक्रममा बोल्दै प्रसिद्ध गीतारवादक अनिल शाहीले विदेशमा हुने कन्सर्टहरुलाई राम्रो व्यवस्थापन गर्ने चुनौती देखिन्छ। विवेकको यो प्रयासले नेपाली कलाकारले गर्ने कन्सर्टमा थप स्तरीयता ल्याउने अपेक्षा गरेको छु।
विज्ले कन्फेरेन्स एन्ड थिएटर सिड्नीमा आगामी फेब्रुअरी १५ र अष्ट्रेलियामा भएको एमटिभी अनप्लग्डको पहिलो कार्यक्रमको सभाहल मिट मार्केट मेल्बर्नमा फेब्रुअरी २२ मा हुने सो कार्यक्रमलाई ग्रेस इन्टरनेसनल एडुकेसन एन्ड माइग्रेसनको मुख्य प्रायोजन गरेको छ। सिड्नीमा हुने कार्यक्रमको मुख्य आयोजकमा अष्ट्रेलियाको प्रख्यात संस्था सोलाङ्चर र गुठी अष्ट्रेलिया रहेका छन् भने पोखरेली समाज अष्ट्रेलिया सहआयोजक रहेको छ। त्यस्तै मेलबर्नमा हुने कार्यक्रमको आयोजक अष्ट्रेलियाको प्रख्यात संस्था सोलाङ्चर छ।
नेपाली समाज, भाषा र संस्कृतिप्रति समर्पित रही योगदान दिएको संस्था हो, सोलाङ्चर। अस्ट्रेलियामा रही निजी क्षेत्रबाट नेपाली भाषाको पहिलो पत्रिका पीपल बोटको प्रकाशनका साथै महायात्रा, नेपथ्य ब्याण्डको कन्सर्ट, सुशील अर्यालको नाटक 'कथा नालापानीको'को आयोजना गरेको थियो। त्यस्तै, नेवार जातिको पृथक पहिचानसहित नेपालका विवध संस्कृतिको संरक्षण गर्दै आइरहेको संस्था हो, गुठी अस्ट्रेलिया।
त्यसै गरी, मूलतः पोखरा स्थायी घर भई अस्ट्रेलियामा बसोबास गर्ने पोखरेलीहरूको समाज हो, 'पोखरेली समाज अस्ट्रेलिया, जसले समाज, संस्कृति, भाषा र संगीतका यस्ता दर्जनौं कार्यक्रम गर्दै आइरहेको छ।'
नयाँ पुस्तालाई सांगीतिक विरासत हस्तान्तरण गर्न ट्रिब्युट टु द लिजेन्डस, संग्स फरएभर, जेनेरेसन्स टु जेनेरेसन्स लगायतका कार्यक्रमको परिकल्पना र सफल प्रस्तुति गरिसकेका विवेक श्रेष्ठका कन्दरा समूहका हंगकंग पोखरा, लेककी हे माया, तिमी पारी, विदेशिएर गइन
उनी लगायतका गीत चर्चित छन् भने उनको एकल एल्वम 'उत्सव'का 'जिन्दगी यो उत्सव होु, 'म आफैं धमिलो'लगायतका गीत चर्चित छन्।
कार्यक्रमलाई मूर्तरूप दिन विगत दुई दशकदेखि नेपाली कालजयी गीत-संगीत र श्रष्टामा समर्पित रही संगीतको खोज-अनुसन्धानमा लागिरहेका रेडियोकर्मी तथा गीतकार भूपेन्द्र खड्काले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन्।