चलचित्र निर्देशक समाजमा लगातार दोश्रो पटक महिला अध्यक्ष चुनिएकी छन्।
शनिबार भएको समाजको निर्वाचनले रक्षा सिंह राणालाई नयाँ अध्यक्ष चुनेपछि निर्देशक समाजले लगातार दोश्रो पटक महिला नेतृत्व पाएको हो।
निकटतम प्रतिदन्वदी सुचित्रा श्रेष्ठलाई १ मतले पराजित गर्दै राणा अध्यक्ष चयन गरेकी हुन्। राणाले ४५ मत प्राप्त गर्दा श्रेष्ठले ४४ मत पाइन्। हारसँगै सुचित्रा लगातार अध्यक्ष बन्नबाट बञ्चित भइन।
अध्यक्ष पदका लागि चार जनाको दाबेदारी परेको थियो। अध्यक्षका अन्य दुई प्रत्यासीहरु लक्ष्मण रिजाल र शेखर खनालले क्रमश: १९ र ३ मत पाए।
यसैगरी उपाध्यक्षमा ५८ मतसहित राजु अधिकारी र ६२ मत प्राप्त गरेर राजेन्द्र कुमार उप्रेती विजयी भए। दुई जना उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका थिए।
उपाध्यक्षका दुई प्रत्यासीहरु विजय रत्न तुलाधरले ५७ मत प्राप्त गरे भने आर.बि.के शरदले २१ मत पाए।
यसैगरी महासचिवमा जनकदीप पराजुली विजयी भए।
पराजुलीले ६१ मत प्राप्त गर्दा महासचिव पदका अन्य दुई प्रत्यासीहरु समीर बलामी र दिनेश लिंगदेनले क्रमशः ४० र ११ पाए।
यस्तै सचिव पदमा भने ५९ मत ल्याएर अरुण कुमार प्रधान विजयी बने। उनका प्रतिद्वन्दी जनक खड्काले ३६ र बिश्वमणी घिमिरेले १७ मत प्राप्त गरे।
कोषाध्यक्ष, सह-कोषाध्यक्ष र सदस्यहरु भने निर्विरोध चुनिएका छन्। कोषाध्यक्ष र सह-कोषाध्यक्षमा समुन्द्र भट्ट तथा सह-कोषाध्यक्षमा हरी सिलवाल चयन हुँदा सदस्यतर्फ किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे र नविन अवाल निर्विरोध भए ।
यसैगरी थमन सिंह पुर्जा र सुरेश न्यौपाने मुख्य सहायक निर्देशकका तर्फबाट चयन भएका छन्।
चलचित्र विकास बोर्डको हलमा भएको निर्वाचनमा सहभागी हुनुपर्ने जम्मा २१७ मतदातामा १३५ मत खसेको थियो।