एडिलेडका रैथाने जो डेभिसले फेसबुकमा तस्बिरहरु राख्दै लेखे, ‘माइ फस्ट नेपाली कन्सर्ट... इट वाज असम (यो मेरो पहिलो नेपाली कन्सर्टको अनुभव थियो। गजब लाग्यो।)’ अष्ट्रेलियामा जारी नेपथ्य श्रृंखलाअन्तर्गत एडिलेडको ‘एचक्यू कम्प्लेक्स’मा कन्सर्ट हेरेर फर्केपछि उनले जनाएको प्रतिक्रिया थियो यो।
मंगलबार अष्ट्रेलियाको पाचौँ ठूलो सहर एडिलेडमा ‘गाउँ गाउँबाट उठ’ गीत घन्किदा हलमा भएका सबैजसो दर्शक उफ्रेर गाइरहेका थिए।
स्तरीय वाइन र त्यसको निम्ति गरिएका फराकिलो अंगुर खेतीका फाँटहरुको निम्ति विश्वमै प्रसिद्ध बरोसा भ्यालीसँग नजिकै रहेको यो सहर दक्षिणवर्ती अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी पनि हो।
कुनै समयकी बेलायती रानीको नाममै राखिएको यो सहर अष्ट्रेलियाकै अरु ठूला सहरभन्दा बेग्लै छ। अरु सहरजस्तो यो ठाउँ उतिबेलाको बेलायती साम्राज्यका कैदी बन्दी राख्नका निम्ति नभइ व्यवस्थित सहरीकरणकै उद्देश्यले रानी एडिलेडको नाम दिएर बसाइएको थियो।
यहाँ नेपालीहरुको संख्या बढ्दो छ। दुइ चार वर्षअघिसम्म पनि केवल २५ सय नेपालीको बसोबास रहेको यस सहरमा हाल यो संख्या आठ हजार नाघिसकेको बताइन्छ। यसमा आधाजति पछिल्लो समय पुनर्वास गराइएका भुटानी शरणार्थीहरु पर्छन्।
‘यति थोरै नेपालीहरुको बसोबास भएको सहरमा यति भब्य कन्सर्ट होला भनेर कसैले चिताएको पनि थिएन,’ कार्यक्रम सम्पन्न हुने बित्तिकै नेपथ्यका मुख्य गायक अमृत गुरुङको नजिक पुगेर आयोजक समूहका गगन गिरी र खुम गुरुङले भनेका थिए, ‘तपाईंले नेपाली कार्यक्रमको नयाँ रेकर्ड कायम गरिदिनुभयो।’
आयोजक गगन र खुम दुवैले एक स्वरमा यो कन्सर्ट आयोजना गरेर नेपथ्यलाई साथ दिने मौका दिएकामा अमृतप्रति कृतज्ञता प्रकट गरेका थिए।
आयोजक गगन पुनर्वास गराइएका भुटानी शरणार्थी परिवारका हुन्। खुम सन् २०१७ मा एडिलेडमै आयोजित नेपथ्य कन्सर्टका आयोजक पनि हुन्।
त्यतिबेला सहरकै ‘नरउड कन्सर्ट हल’मा नेपथ्यले प्रस्तुति दिएको थियो। नेपथ्य यो सहरमा मंगलबार तेश्रोपटक प्रस्तुत भएको थियो। नेपालमा मंसिरको ठिही सुरु भएको बेला दक्षिणी गोलार्द्ध भने विस्तारै न्यानो मौसममा प्रवेश गर्न थालेको छ।
सहरको तापक्रमले २० डिग्री नाघिरहेकै क्षण मंगलबार बेलुकी ठीक सवा आठ बजे ‘सा कर्णाली’ म्यूजिक भिडियोले एचक्यू हल भित्रको तापक्रम झनै बढाइदिएको थियो। सधैंजस्तै दुइ टा भिडियो प्रस्तुत गरेपछि नेपथ्यले ब्याण्डकै पहिलो रेकर्डभएको गीत ‘आँगनैभरि हिउँ नै झरे’बाट आफूलाई मञ्चमा उपस्थित गराएको थियो।
त्यसपछि लगातार एकपछि अर्को ब्याण्डका सदाबहार गीतहरु दुई घन्टासम्म गाइएका थिए। कतिपय भर्खरै रेकर्ड गरिएका गीतहरु पनि प्रस्तुत गरिएको थियो।
‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महशुस गर्न पाउँदा आनन्द लागिरहेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए, ‘स्टेजबाट गाइरहेको बेला अन्धकारले गर्दा दर्शकदीर्घा जसै म देख्न सक्दिनँ, त्यसैगरी त्यस क्षणले मलाई म स्वदेशमा गाइरहेको छु वा विदेशमा भन्ने छुट्याउन नसक्नेगरी आत्मीयता महशुस गराइरहेको हुन्छ। यति धेरै माया गरेर एडिलेडका दर्शकले मलाई ठूलो ऋणी बनाइदिएका छन्।’
अमृतलाई सधैंझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।