मैले सानोमा लेखेको कविता:
आज हामी साना छौं, पढी लेखी ज्ञानी भई ठूलो मान्छे बन्ने छौं।
तर, ठूलो भएपछि यो कविता सुहाएन। किनभने, ठूलो भएपछि केही बनिएन। अहिले लेखेको कविताचाहीँ अलि राजनीतिक छः
चाइनाबाट रेल खाडीबाट तेल
इन्डियाबाट सत्ताको खेल
बोलीको भरमा जनतालाई जेल
पिएचडीवालाले हलो जोत्न थाले
देश चलाउनेमा चाहिँ डिएलई (आठ कक्षा) फेल
***
धन्न यो टुँडिखेलको कार्यक्रम अलि छिट्टै भयो क्या! दुई-तीन वर्षपछि कार्यक्रम गरेको भए हामी आकाशे पुलमा बसेर ताली बजाइरहेका हुन्थ्यौं। हेर्नुस् न, यही नजिकैको फिल्म हलमा थ्रीडी, फोडी, सिक्सडी आइसक्यो। हाम्रो यो टुँडि भने टुडीबाट वान डी, जेरो–पोइन्ट–फाइभ डीमा झरिसक्यो। बल्ल आएर यो कुरा थाहा पाइरहेका छौं।
***
जे पायो त्यही बोल्न पनि गाह्रो छ हेर्नुस्। अब नेपालको अवस्थै यस्तै छ। सुन्तला पेलेर जुस निकाल्छन्, जनता पेलेर घुस निकाल्छन्। फेरि यहाँ बोल्दा बोल्दै पक्राउ परिएला भन्ने डर छ।
देशमा पूरै कन्फ्युजन चलिरहेको छ, पूरै उथलपुथल भइरहेको छ। छिमेकीले देशको जग्गा मिचिरहेका छन्। सरकारले फेरि जनताको जग्गा मिचिरहेको छ। जनताले सरकारको जग्गा मिचिरहेका छन्। कता के भइरहेको बुझ्नै गाह्रो।
यहाँ खेलिरहेको ठाउँमा पनि को-कसको टिममा हो थाहा छैन। एउटाले हानेको बल अर्कोले समातिरहेको छ। फुटबलले हानेर स्टन्ट ढलाइरहेका छन्। अलि ठूलो टुँडिखेल भएको भए मजा आउथ्यो नि, हैन!
अवस्था नाजुक छ।
***
पछाडि हेर्यो आर्मी देखिन्छ, अगाडि पनि आर्मी देखिएला भनेर पहाडले छेकिदिएको छ (टुँडिखेलमा माटो थुपारिएको ठाउँ इंकित गर्दै)। जता हेर्यो त्यही आर्मी देखिन्छ भनेर पहाडै बनाइदिएको छ। कसले भन्छ नेपालमा विकास भएको छैन भनेर?
रातारात बाटो पिच हुन्छ, रातारात पहाड आउँछ। दुई-चार वर्षमा हिँउ पर्छ त्यो पहाडमा।
जे भए पनि युवा पुस्ता हो, हामीले नै हो देश बनाउने। आफ्नो कि अर्काको बनाउने भन्ने मात्रै फरक हो।
***
नेपाली भएर जन्मिइसकेपछि हामीलाई धेरै कुरा लाग्छ। मुख्य गरी चार चिज लाग्छ– सुरुमा गर्व लाग्छ। स्कुलमा पढिन्छ नि भक्ति थापाको देश, बुद्ध जन्मेको देश भनेर, खुब गर्व लाग्छ। त्यसपछि उमेर बढ्दै जान्छ अनि चिन्ता लाग्छ।
अझै, ठूलो भएपछि विरक्त लाग्छ, केही पनि नहुने रहेछ यो देशमा भनेर। लास्टमा चाहिँ केही सीप नलागेपछि दुबई-कतारको भिसा लाग्छ।
हाम्रो यो ‘अकुपाई टुँडिखेल’ अभियान... सरकारले केही गर्लाजस्तो लाग्दैन। बढीभन्दा बढी गरे ‘दमन’ सम्म चाहिँ गर्ला। त्यही भएर यो अभियानलाई हामी सबै मिलेर सफल बनाउनुपर्छ।
(टुँडिखेललाई अतिक्रमणमुक्त बनाउन सञ्चालित ‘मुक्त टुँडिखेल’ अभियानअन्तर्गत गत शनिबार भएको साहित्यिक जमघटमा स्ट्याण्डअप कमेडियन लेखमणि त्रितालले सुनाएको कमेडीको सम्पादित अंश)