२०२२ सालमा आमा चलचित्र सार्वजनिक भएको ५३ वर्ष प्रवेशको सन्दर्भ पारेर वीरगंजकोमा बिहीबारदेखि तीनदिने 'स्वर्णीम चलचित्र महोत्सव’ सुरु भएको छ। वीरगंजकाे आदर्शनगरमा महोत्सव उद्घाटन गर्दै राष्ट्रपति विद्या भण्डारीले चलचित्र चेतना र जागरणको संवाहक हुनुपर्ने बताइन्।
चलचित्र निर्माता संघले आयोजना गरेका कार्यक्रममा नयाँ पुराना पुस्ताका दर्जनौं कलाकार सहभागी छन्। औद्योगिक नगरी वीरगंज महाेत्सव कारण चलचित्र नगरी बनेकाे छ। सिनेमाका पाेस्टर र ब्यानरले कार्यक्रम स्थललाई प्रवेशद्वारदेखि नै सिँगारिएकाे छ।
नेपाली चलचित्रका पहिलो छायाकार बैकुण्ठ मास्के र पहिलो सम्पादक तीर्थलाल श्रेष्ठलाई सम्मान गदै स्वर्णीम कार्यक्रम सुरु गरियो। मास्के र श्रेष्ठले ‘मनको बाँध’जस्ता प्रारम्भिक चरणका दर्जनौं सिनेमामा काम गरेका छन्।
पुराना पुस्ताका पहिलो नायिका भुवन चन्द, नीर शाह, भुवन केसी, शिव श्रेष्ठ, निरुता सिंहदेखि पछिल्लो समयका चर्चित दीपकराज गिरी, दिपाश्री निरौला, सुनिल थापा, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, छुल्ठिम गुरुङसम्मको उपस्थिति छ।
भोजपुरी समुदायको बाहुल्य रहेको वीरगंज नेपाली चलचित्र महोत्सव आयोजना हुनुलाई प्रदेश र स्थानीय सरकारका प्रतिनिधिले महत्वका साथ लिइएको बताए। प्रदेश २ मा पहिलो पटक भएको नेपाली चलचित्र महोत्सवमा मुख्यमन्त्री लालबाबु राउत, प्रदेश प्रमुख तिलक परियार र वीरगन्जका नगरप्रमुख विजय सरावगीको उपस्थिति थियो।
मुख्यमन्त्री राउतले यस्तो महोत्सवले राजधानी केन्द्रित नेपाली सिनेमालाई विस्तार गर्न र क्षेत्रीय कलाकार जन्माउनसमेत योगदान दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख सरावगीले मधेसी संस्कृतिलाई हालसम्म समेट्न नसकेको भन्दै महोत्सवले यसमा सघाउने अपेक्षा गरे।
महोत्सवमा बलिउड अभिनेता गोविन्दा विशेष आकर्षणका रुपमा उपस्थित छन्। महोत्सवकै लागि भनेर आएका उनले बिहिबार बेलुका विशेष प्रस्तुति दिने कार्यक्रम छ।
सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले कार्यक्रममा हिजोको दिनमा हिन्दी सिनेमाबाट प्रभावित भई विकास भएको नेपाली चलचित्रले अब आफ्नै दिशा बनाउनु पर्नेमा जोड दिए। उनले भने, ‘खै नेपालमा राम्रो बायोपिक बनेको? खै ऐतिहासिक घटनाबारे फिल्म बनाएको? खै नालापानी, कालापानीबारे फिल्म बनाएको?’
विश्व बजारमा कान्छो उद्योग भए पनि आयोजक निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्रले आफ्नो अस्तित्व बनाउन सफल भएको बताए। उनले भने, नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा बिस्तार गर्न अब राज्यबाटै पहल गर्नुपर्छ।’
महोत्सवमा सांस्कृतिक झाँकी, संगीत तथा नृत्य प्रदर्शनी र वर्कसपहरु सञ्चालन हुनेछन्। 'तराई, पहाड, हिमालको उत्सव' नारा दिइएको महोत्सव शनिबारसम्म चल्नेछ। भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजित यस्ता महोत्सवले नेपाललाई चलचित्र छायांकनको नयाँ गन्तव्यका रुपमा पहिचान दिलाउने आयोजकको विश्वास छ।