यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध को प्रस्तुति हुने भएको छ। यसका निम्ति हङकङबाट संगीतकार विक्रम गुरुङ काठमाडौं आइपुगेका छन्।
संगीतकार विक्रम फेवातालको पश्चिम पहाडमा रहेको तामागी गाउँमा जन्मिएका संगीतकार हुन्। विक्रमका पिता भारतीय सेनामा भएका कारणले उनको बाल्यकाल भारतको देहरादुनमा बित्यो। प्राथमिक तह पढ्दै गर्दा स्कुलमा पियानो बजाउँदै बालगीत सिकाएको दृश्यले उनलाई आकर्षित त गर्थ्यो तर त्यतिबेला उनी संगीत कक्षामै सहभागी विद्यार्थी भने थिएनन्।
कक्षा पाँचको अध्ययनपछि विक्रमको परिवार पोखरा फर्कियो र उनी सुरूमा नेपाली आदर्श विद्यालयको नामले चिनिएको गण्डकी बोर्डिङ स्कुलमा भर्ना भए। गण्डकी बोर्डिङ स्कुलमा कक्षा दशसम्म पढेका उनले एसएलसी भने मल्टी पर्पोज न्यासनल हाइस्कुलबाट गरे।
विक्रम सानै उमेरदेखि संगीतमा जिज्ञासु भएरै हो किशोर अवस्थामै बिना बाजागाजा गुनगुनाएर धुन बुन्ने प्रयास गर्थे। पलेँटीको निम्ति गाउने अभ्यास गरिरहेका उनीलाई आफ्नो सुरुका दिन सम्झन अनुरोध गर्दा भन्छन्- ‘मैले ट्युन गर्न पहिलो कोशिश गरेको त ‘फेरि उसैका लागि’ मा रहेका राजा महेन्द्रका शब्दहरूबाट हो, बिना बाजागाजा। त्यो संगीतप्रतिको मेरो रहरको जिज्ञासु चरण थियो।‘
वि.सं. २०३३-३४ सालपछि भने उनको सांगीतिक रुचिले नयाँ मोड लियो। त्यो नयाँ मोडमा पुर्याउने पात्र भने गायक अरुण थापा थिए। अरुणको स्वर त्यतिबेला मौलिक रचनामा प्रवेश भएकै थिएन।
उनी रेडियो र फिल्ममा चलेका हिन्दी, नेपाली गीत गाउँथे। उनको गायकीको चर्चासँगै पोखरामा रहेका संगीत र साहित्य प्रेमीहरूको चहलपहल बढ्यो। त्यही चहलपहलले पोखरेली युवा सांस्कृतिक परिवारको जन्म भयो।
संगीतकार विक्रम त्यही विगतलाई सम्झँदै भन्छन्, ‘अरूणसँगको भेटपछि भने पोखरेली युवा सांस्कृतिक परिवारको जन्म भयो। विभिन्न कार्यक्रमहरू आयोजना हुन थाले। त्यसनिम्ति नेपाली गीत बनाउनु पर्छ भन्ने सोच आयो र मैले पनि अरुण सँगसँगै बसेर संगीत सृजना गर्ने जाँगर चलाएँ।‘
संगीतकार विक्रमले सृजना गरेका तीनवटा गीत मात्र अरुणले गाएका छन्। ती तीनवटै गीतले लोकप्रियता र बौद्धिक जमातको प्रशंसा दुवै बटुले।
‘भुलुँ भलुँ लाग्यो मलाई’ ले त लोकप्रियताको उचाइ नै चुम्यो साथै ‘आँखाको निँद खोसी लाने’ र ‘कतै टाढा तिमीबाट भुलेँ भने’ ले पनि राम्रो प्रशंसा पाए। अरूण र विक्रमको सांगीतिक सहकार्यमा निकै ठूलो सम्भावना रहेको थियो तर त्यो सम्भावनालाई समयले साथ दिएन।
उच्च शिक्षा हासिल गर्न विक्रम काठमाडौंतिर लागे। कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय भर्ना भए। अरुण भने पोखरामै रहे। केही अन्तरालमा अरूण पनि काठमाडौं त आए तर पोखराको जस्तो सांगीतिक जमघट हुन सकेन। साँगाको प्रहरी विद्यालय हुँदै अध्यापन पेशामा प्रवेश गरेका विक्रमलाई त्यही पेशाले हङकङ पुर्यायो। संगीतबाट उनी टाढा नै त भएनन् तर त्यसमै तल्लिन रहन पनि पेशा र समयले साथ दिएन।
‘अरूणकै निम्ति भनेर केही गीत तयार पनि गरेँ र काठमाडौंमै रेकर्ड गर्ने तयारी पनि भयो। म्युजिक ट्रयाक पनि बने तर अरूण हराइरहेको बेला थियो त्यो। अरूणको स्वास्थ्य खस्किसकेको बेला थियो। उनको मनले गाउन खोज्थ्यो तर शरीरले साथ दिन सकेन। ती ट्रयाकहरू त्यत्तिकै थन्किए।‘ तिनै गीतको संयोजन गरेका सहयोगी संगीतकार अम्बर गुरुङ ‘पोखरेली’ तिर फर्कँदै विक्रमले अरूणका पछिल्ला क्षण सम्झिए।
पलेँटीमा आउने शुक्रबार, शनिबार र आइतबार तिनै क्षण र सांगीतिक यात्राको सम्झना गर्दै आफ्ना गीत प्रस्तुत गर्ने तयारीमा छन् संगीतकार विक्रम गुरुङ।
‘पलेँटीले शब्द लेख्ने र धुन भर्नेहरूलाई प्रस्तुत गर्ने क्रममै मलाई पनि निम्त्याएको हो भन्ठान्छु। यो मञ्चमा नेपाली आधुनिक संगीतका धेरै योगदानकर्ताहरू प्रस्तुत भइसक्नु भएको छ। यो मञ्चले नेपाली आधुनिक संगीतको प्रतिष्ठा उठाउन गरेको अभियानमा जोडिन पाउनु खुशीको कुरा हो,’ आफ्ना धेरैजसो गीत आफैं गुनगुनाउने तयारीमा रहेका गुरुङ भन्दै थिए। उनलाई महिला गायनतर्फ भने गायिका मीना निरौलाले साथ दिनेछिन्।
‘पलेँटी मार्फत् विक्रम दाइसँगको संगतलाई अझ परिमार्जित गर्न पाउनु एउटा छुट्टै सांगीतिक रचनाको अध्ययन गर्नु जस्तै हो। उहाँले संख्यामा थोरै गीत बनाए पनि तिनको मिठास र गुणले म सँधै आकर्षित भएको छु,’ पलेँटी संयोजक आभाषले भने।
यही महिनाको १० गते सुरू हुने विक्रम गुरुङसँगको पलेँटी तीन दिनसम्म चल्ने छ। कार्यक्रमलाई पलेँटीको सुरूआतदेखि नै सञ्चालन गर्दै आएका संगीतकर्मी आभाषले संगीतकार विक्रम गुरुङको सांगीतिक जीवनको सेरोफेरोमा रहेर अन्तरसम्वाद पनि गर्नेछन्।
कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा संगीतकार गुरुङलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा पारस, बाँसुरीमा बलराम समाल र बेस गिटार मा अम्बर गुरुङ ‘पोखरेली’ले साथ दिनेछन्।
यही जुलाई महिनाको, २६, २७ र २८ तारिखमा हुने पलेँटी कालिकास्थानस्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ।
कार्यक्रममा सहभागी हुन अनलाइन, फोन र इमेलबाट टिकेट बुक गर्ने सुविधा छ। त्यसकानिम्ति www.thuprai.com साथै paleti@nepalaya.com.np र ९८०३९१९२६६ मा सम्पर्क गर्न सकिने कुरा नेपालयले जानकारी गराएको छ।