महाभारतको विवादास्पद पात्र समेटेर लेखिएको राजेन्द्र थापाको उपन्यास ‘शकुनी’ सार्वजनिक भएको छ।
शुक्रबार सर्वनाम थिएटरमा सम्पन्न कार्यक्रममा उपस्थित लेखक तथा पाठकले दशर्कदीर्घाबाटै उपन्यास सार्वजनिक गरेका हुन्।
उपन्यासलाई मात्र मञ्चमा राखेर गरिएको कार्यक्रममा उपन्यासबारे शरच्चन्द्र वस्ती र राजकुमार बानियाँले टिप्पणी गरे।
भाषाविद् वस्तीले ‘शकुनी’ उपन्यासको जटिल परीक्षामा राजेन्द्र थापा उत्तीर्ण भएको बताए।
‘शकुनीका माध्यमबाट वर्तमान युगको चित्रण गर्न सफल उपन्यासले नयाँ प्रश्नहरू जन्म गराएको छ’, वस्तीले भने।
यस्तै, अर्का वक्ता राजकुमार बानियाँले शकुनी आख्यानात्मक तवरमा लेखिए पनि गैरआख्यानको स्वाद पाइने बताए।
उनका अनुसार आत्मपरक शैलीमा लेखिएको उपन्यासले विवाद सृजना गर्ने आधारहरू छोडेको छ।
‘शकुनी पढेर पाठकले आफैं निष्कर्ष निकाल्न सक्ने ठाउँ रहेको छ’, बानियाँले भने।
लेखक थापाले भने सीमान्तकृत विजित पात्रको आँखाबाट उपन्यास लेख्न खोजेकाले आजको समाज र सामाजिक मुद्दालाई शकुनीले उठान गरेको दाबी गरे।
दक्षिण एसियामा नै शकुनीको चरित्रलाई बुनेर आख्यान नलेखिएको स्थितिमा आफूले सिङ्गो उपन्यास लेख्न साहस गरेको बताए।
यसअघि ‘खेलौना’ र ‘द्रौपदी’ उपन्यास प्रकाशित गरिसकेका थापाको यो तेस्रो उपन्यास हो ।
गीत र मुक्तकमा विशेष ख्याति कमाएका थापाको ‘फिर्ता चाहियो’ कथासंग्रह प्रकाशित छ । इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासको मूल्य ४ सय ४९ रुपैयाँ रहेको छ ।