सिके राउतमाथि सिनेमा बन्ने भएको छ।
लामो समय अगल मधेश राज्य माग गर्दै गत वर्ष नेपाली राजनीतिको मूलधारमा आएका राउतको जीवनमाथि बन्ने 'डा. सिके राउत' सिनेमाको मंगलबार राजधानीमा घोषणा गरिएको हो।
आफ्नो बायोपिक सिनेमा घोषणा कार्यक्रममा स्वयं राउत उपस्थित थिए।
सिनेमलाई नेपाली, हिन्दी तथा भोजपुरी गरी ३ भाषामा रिलिज गरिने जानकारी निर्माणपक्षले दिएको छ।
सो कार्यक्रममा सिनेमा निर्माण घोषणासँगै निर्माण टिमले सिनेमाको टिजर पनि सार्वजनिक गरेको थियो ।
सिनेमामा सिके राउतको भूमिका भोजपुरी सिनेमाका ‘पावर स्टार’ परिचित परदेशी शाहले निर्वाह गर्नेछन् । उनी सुपरहिट सिनेमा ‘एस.पी खरेल’ बाट निकै चर्चामा आएका थिए ।
सिनेमालाई दुई दर्जन बढी भोजपुरी सिनेमाको निर्देशन गरिसकेका निर्देशक सन्तोष शाहले सिनेमाको निर्देशन गर्दैछन् । सिनेमाको कथा, पटकथा तथा संवाद पनि निर्देशक स्वयंले लेखेका हुन् ।
सिनेमाको छायांकन विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा गरिने छ । ‘डा. सिके राउत’ का निर्माता बाबु हुन् । ‘डा. सिके राउत’ मा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्णलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
अभिनेत्रीको भने टुंगो लागेको छैन । भदौबाट सिनेमाको छायांकन सुरु हुनेछ भने आउँदो छठ पर्वमा रिलिज गर्ने तयारी निर्माण टिमको छ ।
सिनेमालाई कमर्शियल बनाउन सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी ५० प्रतिशत काल्पनिक कथा जोडिने बताइएको छ । अभिनेता शाहले सिनेमामा सिके राउतको भूमिका निर्वाहा गर्न पाउनु आफ्नो लागि ठूलो अवसर र चुनौती रहेको बताए ।
सिनेमाको टीजर हेरेपछि सन्तुष्ट देखिएका सिके राउतले मधेश आन्दोलनमा आफूले गरेको संघर्षको कथामा सिनेमा निर्माण हुने बताए ।
‘सिनेमा निर्माण गरेपछि चल्नु पनि पर्छ । त्यसैले कमर्शियल बनाउन सिनेमामा केही काल्पनिक दृश्यहरु पनि जोडिनेछ’, उनले सिनेमालाई सिनेमाकै रुपमा बुझ्न आग्रह गर्दै अगाडि भने, ‘सिनेमामा केही विवादस्पद कुरा पनि आउन सक्छन् । तर, त्यो एउटा इतिहास भइसकेको छ ।’
एउटा मान्छे किन विद्रोहमा उत्रिन्छ भन्ने कुरा सिनेमामा देखाइने सिके राउतको भनाइ छ ।