आर्थिक अभाव र प्रविधिमा पहुँचका कारण करिब एक दशक गुमनाम थिइन् ठाडी भाकाकी चर्चित गायिका डिक्रा बादी। उनै डिक्राको नयाँ गीत सुवा काँ भागिग्या मार्फत संगीत क्षेत्रमा पुनरागमन भएको छ। गत बुधबार धनगढीमा सुदूरपश्चिमका सामाजिक मन्त्री कृष्णराज सुवेदीले डिक्राको गीतको भिडियो सार्वजनिक गरेका हुन्।
केपी अनमोलको शब्द, संगीत रहेको 'सुवा काँ भागिग्या' गीतको भिडियोको निर्देशन रमेश बिसीले गरेका छन्। गीतको भिडियोमा ड्रोनको समेत प्रयोग भएको छ।
सयौं गीतमा स्वर दिएकी चर्चित डिक्राको यो जीवनकै पहिलो गीति भिडियो हो। लामो समयपछि संगीतमा नयाँ माध्यमसहित फर्केकी डिक्राले सेतोपाटीलाई भनिन्, 'संगीतबाट हराउनु पर्ला भनेर पीर लाग्थ्यो। सबैको मायाले आज फेरि गाउन पाउँदा धेरै खुशी लागेको छ।'
कार्यक्रममा डिक्राले सम्मान तथा आर्थिक सहयोग समेत पाएकी छन्। उनको घर भएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ५१ हजार नगद प्रदान गर्ने घोषणा गरियो। नगरपालिका प्रमुख कर्ण हमालले नगदसँगै हुरीले क्षतिग्रस्त डिक्राको घर मर्मत गर्नसमेत सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।