दुई दसकदेखि कविता लेखनमा सक्रिय मीनकुमार नवोदित बिहीबार सांस्कृतिक संस्थानमा प्रस्तुत भएका छन्। हरेक महिनाको तेस्रो साता बिहीबार आयोजना हुने कार्यक्रमको पन्ध्रौं शृंखलामा विराटनगरका कवि नवोदित प्रस्तुत भएका हुन्।
‘आमा र जून’ कविता वाचन गरेर कार्यक्रमको मेलो पसेका नवोदितले ‘सम्झनामा बा’ कविता वाचन गरेर कार्यक्रमको बिट मारेका थिए। उनले ‘अर्गानिक अनुहार’, ‘अन्तिम इच्छा’, युगको अन्तिम रात’, ‘तस्बिर र प्रेम’, ‘देश छाड्नुअघि’, ‘देशका नाममा’ गरी जम्ममा १२ वटा कविता वाचन गरेका थिए।
उनलाई ठाकुर बेल्वासेले ‘रहर’, ज्योति जंगलले ‘घाइते समय’ र उमेश राई अकिञ्चनले ‘अनुहारको बयान’ शीर्षकको कविता वाचन गरेर सघाएका थिए। वाचित कवितामाथि युवा समालोचक महेश पौड्यालले टिप्पणी गरे। नवोदितको कविताले वर्तमान युगबोध गरेको उनले बताए।
सांस्कृतिक संस्थानले भाषा, साहित्य र कलाको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले एकल कविता वाचन राखिएको स्वागत मन्तव्यका क्रममा संस्थानका वरिष्ठ नाटक प्रबन्धक प्रभाकर शर्माले बताए। ‘हाम्रो यो अभियानमा सबैको साथ र सहकार्य आवश्यक छ,’ शर्माले भने, ‘भाषा र संस्कृति रहे मात्रै राष्ट्र र राष्ट्रियता बच्छ।’
प्रमुख अतिथिसमेत रहेका वरिष्ठ कवि प्रा.डा. तुलसी दिवसले कवितामा आफ्नोपन र निजत्व हुनुपर्नेमा जोड दिए। ‘कवि अरु हुने होइन आफू हुने हो,’ उनले थपे, ‘यदि जुन कवि अरु हुन खोज्छ त्यसको अस्तित्व त्यहीँ सकिन्छ।’
दिवसले नवोदित युवायुस्ताका सशक्त र सम्भावना भएका कवि भएको बताए। कार्यक्रममा प्राज्ञ खेम नेपाली, रमेशरञ्जन झा, गंगा सुवेदीलगायतले नवोदितका कवितामा अहिलेको युग बोलेको चर्चा गरे। नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ दुई वटा कविता संग्रह प्रकाशित छन्।