बलिउडको इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) काठमाडौंमा हुने भएको छ। यसको नेतृत्वको जिम्मा पर्यटन बोर्डलाई दिइएको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताए।
अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपक जोशीले जानकारी दिए।
अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको छ।
समितिमा पाँच वटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि हुने छन्।
यो समितिले अवार्डका लागि सम्झौता, सहजीकरण, समन्वय गर्ने छ। कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको छ।
अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्नेछन्।