‘मलाई आज पनि नयाँ दिल्लीस्थित ‘क्याफे कफी डे’मा आफ्नो पहिलो किताब विमोचन भएको याद छ। चार जना साथी र प्रकाशकबाट आएका दुई जना व्यक्ति मात्र उपस्थित हुँदा पनि त्यो दिन यादगार बन्यो।’
पहिलो किताब ‘फाइभ प्वाइन्ट समवान’को विमोचन मितिले पन्ध्र वर्ष पूरा गर्दा चेतन भगतले फेसबुकमा यी कुरा लेखेका हुन्।
सन् २००४, मे १४ मा सार्वजनिक उक्त किताबले मंगलबार पन्ध्र वर्ष पूरा गरेको हो। यही किताबमा आधारित भएर बलिउड हिट फिल्म ‘थ्री इडिअट्स’ बनेको हो।
‘वान नाइट याट कल सेन्टर’, ‘टु स्टेट्स’, ‘हाफ गर्लफ्रेन्ड’ जस्ता चर्चित किताब प्रकाशन गरिसकेका चेतन भगत भारतका चर्चित लेखकमध्ये पर्छन्। उनले आजसम्म आठ वटा भन्दा बढी किताब लेखिसकेका छन्। उनका उपन्यासहरू करिब सात लाखभन्दा बढी कपी बिकिसकेका छन्।
‘द टाइम्स अफ इन्डिया’ र ‘दैनिक भाष्कर’ अखबारमा समेत संलग्न भगत आफ्ना किताबबाट चर्चा र आलोचनामा आइरहेका हुन्छन्।
‘लेखन क्षेत्रमा भर्खरै छिरेको थिएँ, त्यसैले क्याफे जस्तो ठाउँमा किताब विमोचन कसरी गरिन्छ थाहा थिएन’, चेतनले फेसबुकमा लेखका छन्, ‘अपरिचित लेखक भएकाले क्याफेमा उपस्थित अन्य व्यक्तिको ध्यान मतिर थिएन। त्यसैले प्रत्येक टेबलमा गएर आफ्नो परिचय दिँदै किताबका बारेमा भनेको थिएँ।’
उनको आग्रहमा दर्जनौं व्यक्तिले आफ्नो टेबल फर्काएर उनको किताबका बारेमा सुने। भगतका छ वटा किताब त्यहीँ बिके।
उनी भन्छन्, ‘नयाँ र अपरिचित लेखक हुँदा पनि मेरो किताब बारे सुनिदिएका ती व्यक्तिहरूलाई म कहिल्यै बिर्सन्नँ। आज पनि आफ्नो किताबको बारेमा र आफ्नो परिचय दिन त्यत्तिकै खुसी हुन्छु, जति म पहिलो दिनमा भएको थिएँ।’
उनले आफ्ना पाठकहरूले गरेको समर्थनप्रति आभार पनि व्यक्त गरेका छन्।
सहरी मध्यवर्गका युवाको सेरोफेरोमा किताब लेख्ने भएकाले उनका पाठक प्राय युवा नै धेरै छन्। सन् २०१० मा टाइम म्याग्जिनले उनलाई संसारका १०० प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो।
किताबसँगै भगत फिल्म स्क्रिप्ट लेखनमा पनि सक्रिय छन्। उनका लेखन रहेका ‘काइ पो चे, टु स्टेट्स र किक’ हिट फिल्म हुन्।
लेखकको पहिचान बनाउनुअघि उनी इन्भेस्टमेन्ट बैंकर थिए।