किराँती सभ्यता र संस्कृतिबाट प्रभावित नाटक ‘जोखना’ ले १६ लाख रूपैयाँ कमाएको छ। मण्डला नाटकघरमा पाँच साता प्रदर्शन भएको नाटकले उक्त रकम कमाएको जनाएको छ।
निर्देशक किरण चाम्लिङ राईद्वारा निर्देशित नाटक वियस राईको कथासंग्रह ‘हिउँमाझी’ मा रहेको कथा जोखनामा केन्द्रित थियो।
यसलाई राजन मुकारुङले नाटकमा रुपान्तरण गरेका हुन्। त्यसअघि, निर्देशक राईले उपेन्द्र सुब्बा लिखित कथा ‘लाटो पहाड’ माथि निर्देशन गरेका थिए।
मुन्धुमी दर्शनलाई पछ्याएर रमाइलो पारामा प्रस्तुत जोखनालाई भने दर्शकले निकै रुचाएका थिए। प्रत्येक दिनजसो ‘हाउसफूल’ नाटकघरबाट कहिले दर्शक टिकन नै नपाएर बाहिरनुसमेत परेको थियो। त्यसैकारण नाटक अवधि एक साता थपेर पाँच साता पुर्याइएको थियो।
चैत ८ गतेदेखि नियमित प्रदर्शनमा आएको जोखनाको आम्दानीले रेकर्ड पनि तोडेको छ। यसअघि प्रदर्शन भएका नाटकमध्ये पछिल्लोपटक नाटक ‘रसोमन’ ले सबैभन्दा बढी ११ लाखसम्म कमाएर रेकर्ड बनाएको थियो।
किराँती संस्कृतिबाट प्रभावित नाटक जोखनापछि मण्डलामा शुक्रबारबाट मैथिली नाटक ‘मिता अब कोना चलब’ प्रदर्शन हुनेछ।
यसलाई रामभजन कामतले निर्देशन गरेका हुन्।
त्यसैगरी, शिल्पी थिएटरमा युवराज घिमिरे निर्देशित नाटक ‘आँधीको मनोरम नृत्य’ प्रदर्शन हुँदैछ भने टेकुस्थित कौशी नाटकघरमा आकांक्षा कार्कीद्वारा निर्देशित नाटक ‘प्राइभेट इज पोलिटिकल’ मञ्चन भइरहेको छ।