सिन्धुली जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यसहित ‘तस्वीरमा सिन्धुली’ फोटो प्रदर्शनी हुने भएको छ।
नेपाल पर्यटन बोर्डले नियमित गर्दै आएको ‘फोटो नेपाल’ को श्रृंखलाअन्तर्गत वैशाख २० गतेदेखि प्रदर्शनी हुने भएको हो।
पर्यटन बोर्डको सहकार्यमा आयोजित प्रदर्शनीमा सिन्धुलीको जनजीवन, प्राकृतिक सौन्दर्य, जीवनशैली, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदालगायत ३५ तस्वीर राखिने छ।
सिन्धुलीका दुई ऐतिहासिक स्थल सिन्धुलीगढी र हरिहरपुरगढीलाई तस्वीरमा देख्न सकिने छ।
यस्तै, सिन्धुलीको मौलिक उत्पादनका रुपमा जुनार र पर्यटकीय मार्गका रूपमा रहेको बीपी मार्गका तस्वीर पनि प्रदर्शनीमा राखिने छन्।
विविध जातिको बसोबास रहेको सिन्धुलीको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई तस्वीरमा देख्न सकिने आयोजकले जनाएको छ।
जिल्लाबाट तस्वीर संकलनका लागि अभियानले आफ्नो पेजमार्फत् सामाजिक सञ्जालमा आह्वान गरेको थियो। प्रदर्शनीमा सिन्धुलीका स्थानीय नौ युनिटको प्रतिनिधित्व होस् भन्ने उद्धेश्यसमेत अभियानको छ।
नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गर्दै घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये सिन्धुलीगढी, सुनकोशीमा जल–पर्यटन र महाभारत पर्वत श्रृंखलामा पदमार्ग विशेष रहेको छ। यी तीनवटै गन्तव्य सिन्धुलीमा छ, जसको विकासले सिन्धुलीले लाभ लिन सक्नेछ। पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धन कार्य सँगसँगै लैजानु आवश्यक छ। अभियानको यो तस्वीर प्रदर्शनी गन्तव्यको प्रवर्द्धनमा टेवा पुर्याउनु पनि हो।
अभियन्ता सौरभ ढकालले भने, ‘सिन्धुलीको समृद्धिका सम्भावनाको खोजी गरिरहेका छौं।’
सिन्धुलीमा पर्यटकीय स्थलहरू पर्याप्त रहेकाले त्यसलाई जिल्लाबाहिर चिनाउन फोटो प्रदर्शनी गर्न लागिएको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए।
फोटो सिन्धुलीका संयोजक दीपक श्रेष्ठले सिन्धुलीमा पर्यटन विकासका लागि कला, संस्कृति, सम्पदाको संरक्षणसँगै प्रवर्द्धनका काम अगाडि बढाउनुपर्ने बताए।
पर्यटन बोर्डमा प्रदर्शनीपछि ती तस्वीरहरू सिन्धुलीका सात गाउँपालिका र दुई नगरपालिकामा समेत घुम्ती प्रदर्शनी गर्न लगिने छ।
तस्वीर प्रदर्शनीका क्रममा पर्यटन बोर्डमा सिन्धुलीको पर्यटनसम्बन्धी छलफल समेत गर्ने अभियानले योजना बनाएको छ। छलफलमा प्रत्येक गाउँपालिका तथा नगरपालिकाले पर्यटन विकासका बारेमा आफ्नो प्रस्तुति दिनेछन्। त्यस्तै, प्रदर्शनीकै अवसरमा प्रत्यक दिन सिन्धुलीका श्रष्टाहरूद्वारा प्रकाशित पुस्तक, सिन्धुलीमा पदयात्राको सम्भावना र साइकल यात्राबारे छलफल समेत आयोजना गरिने छ।
‘तस्बिरमा सिन्धुली’ प्रदर्शनी एक सातासम्म चल्नेछ।