समाजशास्त्री सुजित मैनालीद्वारा लिखित किताब ‘शिलान्यास’ सार्वजनिक भएको छ। बुकहिलद्वारा प्रकाशित किताबलाई शनिबार लेखक तथा पत्रकार सुधीर शर्मा, सामाजिक अध्यता गौरव केसी र अन्तराष्ट्रिय मामिलाविद् लिला न्याइच्याईले लोकार्पण गरे।
लेखक मैनाली समाजशास्त्रको परम्परागत ढाँचाबाट बाहिरिएर इतिहासमार्फत वर्तमान पर्गेल्छन्। विगतका सामाजिक–सांस्कृतिक विषयवस्तुलाई ध्यान दिने उनी इतिहास र संस्कृतिमा रुचि राख्छन्।
पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको विजय अभियानको चरित्र कस्तो थियो? यसले जनजातिको संस्कृति तथा राजनीतिमा कस्तो प्रभाव पार्यो? पूर्ववर्ती लेखकहरुको इतिहास–संस्कृतिको दृष्टिकोण कति सही छ? लगायत यावत प्रश्नको जवाफ खोज्ने प्रयत्न शिलान्यास भएको प्रकाशकको दाबी छ।
अन्तर्राष्ट्रिय मामिला विज्ञ लिला न्याइच्याईले किताबमा कुनै तस्बिर नभए पनि हरेक शब्दले सचित्र व्याख्या गरेको अनुभूत हुने उल्लेख गरिन्। त्यसैगरी लेखकले इतिहासलाई नै वजन्दार प्रश्न गरेको बताइन्।
‘हामीले पश्चिमीहरुले लेखको लेखनलाई गहन र आधिकारिक मान्दै आएका छौं। त्यस्ता पुस्तक माथि नै प्रश्न उठाएर सोधपत्रको थालनी भएको मैले पाएँ,’ उनले भनिन्, ‘यो अत्यन्त जटिल र चुनौतीपूर्ण कार्य पनि हो।’
त्यसैगरी, सामाजिक अध्यता गौरव केसीले इतिहासलाई छोटो समयमा बुझ्न चाहनेले यो किताब अनिवार्य पढ्नुपर्ने बताए।
‘इतिहास भनेपछि एकदमै पट्यार लाग्दो हुन्छ भन्ने धेरैको धारणा छ। यो किताब भने सरल, संक्षिप्त, आकर्षक र सबैले बुझ्ने ढंगले लेखिएको छ। सामाजिक विज्ञान पढिरहेका धेरैलाई यो किताब हाते–पुस्तक पनि हुनसक्छ,’ उनले भने, ‘यो किताब आफैंमा भर्चुअल हिस्ट्री पनि हो। यस्तो नभएको भए कस्तो हुन्थ्यो होला? भनेर इतिहासको विवेचना पनि गरिएको छ।’
लेखक तथा पत्रकार सुधिर शर्माका अनुसार शिलान्यासले इतिहासलाई लोकप्रिय हिसाबले पढ्न प्रेरित गर्छ। इतिहास भनेपछि डराउने हामीलाई किताबको सरलताले आकर्षित गर्ने शर्माले औंलाए।
‘इतिहास प्रायः क्रमबद्ध हिसाबमा लेखिएको हुन्छ। त्यो क्रम शिलान्यासमा छैन। जुन विषय लेख्नुपर्छ भन्ने लागेको छ लेखकले चलाखीपूर्वक त्यसैलाई लेख्नुभएको छ। धेरेवटा किताब पढ्नुभन्दा यही एउटा किताब पढ्दा पनि हामीले करिब २५० वर्षको इतिहासलाई सरसर्ती बुझ्न सक्छौं,’ शर्माले भने, ‘किताब पढ्दै जादाँ लेखकले वर्तमानका मुद्धालाई जवाफ दिन इतिहासलाई समातेको जस्तो देखिन्छ।’