१२खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा बीना थिङ तामाङ प्रथम भएकी छन्। प्रतियोगितामा सहभागी ४४५ कथामध्येबाट तामाङकृत 'ब्याड भाले' प्रतियोगिताको सर्वोत्कृष्ट (प्रथम) कथा बनेको हो।
तामाङले एक लाख रुपैयाँ नगद पुरस्कारका अतिरिक्त शिल्ड र प्रमाणपत्र हात पारेकी छन्।
प्रतियोगितामा लक्ष्मण वियोगी द्वितीय भएका छन्। वियोगीको ‘टाउको’ शीर्षकको कथाले ६० हजार नगद पुरस्कारका अतिरिक्त शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो। वियोगी पत्रकार पनि हुन्।
प्रतियोगितामा सुमित्रा न्यौपाने तेस्रो भइन्। न्यौपानेको ‘बार्दली’ शीर्षकको कथाले ४० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगिताका लागि झण्डै नौ सय कथा प्राप्त भएको थियो। त्यमध्ये ४४५ कथा मापदण्डभित्र परेका थिए।
गत माघ २१ देखि फागुन २० गतेसम्म कथा पठाउने मिति तय गरिएको थियो। प्राप्त कथामध्येबाट उत्कृष्ट २५ को सङ्कलनसमेत प्रकाशित गरिएको छ।
‘उत्कृष्ट कथा २०७६’ नाम दिइएको उक्त सङ्कलनको विमोचन तथा विजयी कथाकारलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पुरस्कार प्रदान गरेका थिए।
उत्कृष्टमा पर्न सफल कथाकारलाई पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री ज्ञवालीले कथा–उपन्यास मानवजातिको उत्कृष्ट सिर्जना भएको विचार व्यक्त गरे।
जिन्दगीका लघुतम घटनाले पनि मानव जीवनमा विशिष्ट छाप छाड्ने, पाठकलाई गम्भीर बनाउने क्षमता राख्ने हुनाले साहित्य–सिर्जनाको प्रभाव व्यापक भएको उनको तर्क थियो।
लोककथा, ग्राम्य कथाबाट सुरू भएको कथा–उपन्यास मुद्रण युगमा आइपुगिसकेकाले यसले मानवजातिलाई अझै फाइदा पुर्याउने विचार उनले राखे।
पछिल्लो समय कथा–उपन्यासमा ज्यादा प्रयोग हुन थालेको बताउँदै उनले भने, 'साहित्यमा नवीन प्रयोग आवश्यक छ। तर, यसले समाजलाई भुलभुलैमा राख्ने भन्दा पनि मानसिकता बदल्ने र मानसिक पुनर्निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्छ।'
उनले नेपाली समाज सानो भए पनि साहित्य–सिर्जनाका लागि कच्चा पदार्थको खानी नै रहेको अर्थ्याए।
१२खरी अनलाइनका प्रधानसम्पादक प्रतीक प्रधानले दशकैपिच्छे साहित्यको आयाम बदलिएकाले प्रतियोगितामा छानिएका २५ कथाले पछिल्लो कालखण्डको प्रतिनिधित्व गर्ने विचार राखे।
'समयसँगै साहित्य सिर्जना पनि बदलिँदै जाँदो रहेछ। साहित्य पढ्दा त्यो समयको बारेमा जान्न बुझ्न सघाउ पुग्दो रहेछ,' उनले भने।
१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई प्रकारको मूल्याङ्कन कमिटी गठन गरेको थियो। आन्तरिकमा राजेन्द्र पराजुली, गोविन्द अधिकारी, लेनिन बञ्जाडे, राजेश खनाल र अक्षर काका रहेका थिए भने बाह्यमा डा. दयाराम श्रेष्ठ, डा. अर्चना थापा तथा नयनराज पाण्डे थिए।
लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय नेपालमा कथा लेखनप्रति आकर्षण कम भएको हुनाले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाले बताएको छ। प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्तासमेतको सहभागिता रहनु उल्लेखनीय पक्ष हो।
प्रतियोगिताले ‘ट्यालेन्ट हन्ट’को काम गर्नुका साथै लुकेर बसेका प्रतिभाको खोजी गरेको छ। यसले आगामी दिनमा नेपाली कथा लेखनमा नयाँ अध्याय थप्ने विश्वास आयोजक संस्थाले गरेको छ।
२५ भित्र जो छानिएः
कथाकार र शीर्षक
१. अनुपम रोशी 'जलकन्या'
२. अन्वेष राई थुलुङ 'वार्ता'
३. अभय श्रेष्ठ फुदुन 'सदाको मुक्ति'
४. अरुणा चौधरी 'थारू घुम्टो'
५. एकदेव अधिकारी 'भगवान्'
६. कर्मसही घर्तीमगर 'धुपो'
७. केशव सिग्देल 'नफर्किने यात्रा'
८. गोपाल झापाली 'आमाको कोलम्बस'
९. दुर्गा कार्की 'चाउमिन'
१०. निरज दाहाल 'ठूलो मान्छे'
११. प्रमोद अमात्य 'जुत्ता'
१२. बिना थिङ तामाङ (प्रथम) 'ब्याड भाले'
१३. माधव सयपत्री 'महानगरका बुद्धावतार'
१४. मानसी 'चन्द्रिका'
१५. मणि लोहनी 'अनुहार'ु
१६. महेश थापा 'मुक्ति आश्रम'
१७. मुना चौधरी 'आमाको सारी'
१८. राजुबाबु श्रेष्ठ 'जङ्गे पिलर'
१९. लक्ष्मण वियोगी (द्वितीय) 'टाउको'
२०. विपुल सिजापति 'अक्षत योनी त्याग'
२१. शिव प्रकाश 'आत्मभोग'
२२. सुमित्रा न्यौपाने (तृतीय) 'बार्दली'
२३. सुरेश यक्सो 'पेनिबा'
२४. हरिमाया भेटवाल 'छिन्ली'
२५. क्षितिज समर्पण 'भ्रूणात्मा'