वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नेपाली चलचित्रमा कथा र पटकथा निकै कमजोर रहेको बताएका छन्।
सोमबार दाङको घोराहीमा चलचित्र दाल भात तरकारीको प्रोमोसनका लागि आएका आचार्यले चलचित्र प्रविधिमा अब्बल भएपनि कथा, पटकथामा निकै कमजोर भएको हुँदा नेपाली चलचित्र नचलेको तर्क गरे। तर उनले मह जोडीले बनाएको चलचित्रले कसैलाई धोका नदिने भन्दै एक पटक हेरिदिन आग्रह गरे।
चलचित्र पत्रकार संघ दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्रका निर्माता किरण केसीले चलचित्रमा दुई करोड बढी लगानी गरेको जानकारी दिए।
‘हामीले मेहेनत गरेका छौं, गीतमा राम्रो प्रतिक्रिया आइरहेको छ,’ केसीले भने ‘ मौलिक कथा वस्तु छ एक पटक हेरेर साथ दिनुहोला।’
चलचित्रका नायक पुष्प खड्का र नायिका आँचल शर्माले पनि चलचित्रमा मौलिक कथा वस्तु भएको र आफूहरूले पनि मेहेनत गरेको हुँदा चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा कलाकारहरू जुनु रिजाल, शिवहरी पौडेल,पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन,निर्माता मुनाल घिमिरे लगायतले चलचित्र राम्रो बनेको हुँदा एक पटक हलमा पुगेर हेरेर साथ दिन आग्रह गरेका थिए।
चलचित्र दाल भात तरकारी वैशाख २० गते रिलिज हुँदैछ।