आगामी चैत १५ गतेदेखि दुई दिनसम्म चितवनको सौराहामा मेडिकल लिटरेचर मेला हुने भएको छ। एमबीबीएस अध्यननरत साहित्यप्रेमी विद्यार्थीहरूको पहलमा हुने मेला सौराहाको थारू कल्चर हाउसमा हुने आयोकले जानकारी दिएको छ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा एमबीबीएस अध्ययनरत साहित्यप्रेमी विद्यार्थीको पहलमा मेडिकल लिटरेचर मेलाको सुरूवात आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
२०७४ सालमा काठमाडौंबाट सुरु भएको मेला यसपटक मेडिकल हब भनेर चिनिने चितवनमा गर्न लागिएको संयोजक विशद दाहालले जानकारी गराए।
चिकित्साको सेतो रङमा साहित्यको निलो रङलाई जोडेर जीवन र जगतसँग हरियो सम्वाद गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रमका संयोजक दाहालले जानकारी दिए।
चिकित्सा क्षेत्रमा लागेर पनि साहित्यमा रुचि भएका चिकित्सक, विद्यार्थीहरुको अन्तरक्रिया तथा साहित्यमा रुचि हुँदाहुँदै पनि बेफुर्सदिलो कारणले साहित्य र चिकित्सालाई जोडेर लाग्नलाई मेलाले सघाउ पुग्ने पत्रकार सम्मेलनमा बताइएको छ।
मेडिकल विद्यार्थीको उपस्थिति बढी आशा गरिएको मेलामा सहभागीले किताब भन्दा बाहिर सामाजिक पाटोको बारेमा जानकारी दिन सकियो भने त्यसले सिकाइ प्रक्रियामा राम्रो प्रभाव पार्न सकिने कार्यक्रमका सल्लाहकार डा जीवन क्षेत्रीले बताए ।
‘चिकित्सा जीवनमा साहित्यको सार’ नारा राखिएको मेलाबारे जानकारी दिँदै क्षेत्रीले चिकित्सा क्षेत्रमा लागिरहेका लाई चौतर्फी विकास फराकिलो बनाउन सघाउ पुग्ने विचार राखे ।
कार्यक्रममा देशका विभिन्न दिग्गज साहित्यकारहरु साथै साहित्यको क्षेत्रमा पनि उत्तिकै सक्रिय डाक्टरहरुको उपस्थिति तथा अन्तक्र्रिया हुने बताइएको छ । कार्यक्रम सेसनमा फरक फरक वत्ता तथा प्रस्तोताद्वारा विभिन्न विषयमा अन्तरक्रिया चलाइने आयोजकले बताएको छ । कार्यक्रममा सांगीतिक प्रस्तुति पनि रहने छ ।
मेलाका विशेषता :
कार्यक्रमको पहिलो दिनमा सांगीतिक प्रस्तुति यमन श्रेष्ठ र अस्मिता अधिकारीको रहने छ। कार्यक्रममा स्वस्थ हुनुको मूल्यबारे अन्तरक्रिया सेसनमा वक्ता हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, बनिता खनाल र सहजीकरण डा. रविन्द्र समीरको रहने छ ।
त्यस्तै अर्को ‘सेसनमा स्वास्थ्य र शिक्षा कसको’, ‘चिकित्सा बाहिरको स्वास्थ्य’, ‘डाक्टर हुनुको अर्थ’ एजेण्डामा डा.रामेश कोइराला, डा सरोज धिताल र जीवन क्षेत्रीको बहस रहने छ।
‘सत्यग्रह’ विषयमा हरि शर्मा वक्ताको रुपमा रहनेछन्।
कार्यक्रममा आख्यानमा पात्रको छनोट विषय सेसनमा नयनराज पाण्डे, अमर न्यौपाने वक्ताको रुपमा छन् भने प्रस्तोतामा सुविन भट्टराई रहनेछन्।
काव्यशाला विषय संवादमा लक्ष्मण गाम्नांगे, नीरज भट्टराई, सुवास प्याकुरेल, भूपिन खड्का, सुलोचना मानन्धर डा कृष्ण पौडेल, सुरेन्द्र अस्तफल, एलबी क्षेत्री, सुमन घिमिरे ,प्रकाश चापागाइँ, डा.ढुण्डीराज पौडेल, डा सुशील अधिकारी , डा.सन्तोष पोखरेल रहने छन्।
दोस्रो दिनको मेलामा ‘संघर्षका सिंढी’ हरु सेसनमा वक्ताको रुपमा डा सुधा शर्मा, विष्णु विष्टको प्रस्तुतिमा डा सुमन आचार्यले सहजीकरण गर्नेछन्।
त्यस्तै दुर्गमका डाक्टर विषयमा डा सुमन कर्माचार्य, डा समिर लामा वक्ताको रुपमा रहने छन् भने सहजीकरण डा जीवन क्षेत्रीको रहनेछ ।
त्यस्तै सोही दिनको अर्को सेसनमा ‘डाक्टरका पिता’ विषयमा खग्रेन्द संग्रौला, नारायण ढकाल वक्ताको रुपमा रहनेछन् भने सहजीकरण डा सुवास प्याकुरेलले गर्ने बताइएको छ।
कार्यक्रमको अन्तिम सेसनमा ‘डाक्टरले किन लेख्ने’ विषयमा डा सरोज धिताल, डा रामेश कोइराला , डा रवीन्द्र समीर वक्ताको रुपमा रहने सेसनमा सहजीकरण लक्षमण गाम्नांगेले गर्ने कार्यक्रमको आयोजक समितिले पत्रकार सम्मेलनमा बताएको छ।