लामो समय नेपाली राजनीतिमा संलग्न रहेर बौद्धिक राजनीतिज्ञको पहिचान बनाएका नरहरि आचार्य नेपाली कांग्रेसका नेता मात्र नभएर गणतन्त्रका शुरुवातकालिन अभियन्ता समेत हुन्।
नेपाली कांग्रेसमा र बौद्धिक जगतमा गणतन्त्रको बहस सिर्जना गर्ने र त्यसका लागि माहोल बनाउने सन्दर्भमा आचार्यले तेस्रो जनआन्दोलन शुरु हुनुभन्दा धेरै अघिदेखि नै विभिन्न अभियान चलाएका थिए। बौद्धिक समाज र नेपाली कांग्रेसलाई गणतन्त्रका लागि तयार गर्न आचार्यका ति अभियानहरु सहायक सिद्द भए।
२०६१ सालको राजा ज्ञानेन्द्रको कू पछी नेपाली राजनीतिको कोर्स परिवर्तन भयो। धेरै नेता कार्यकर्ताको धरपकड शुरु भयो र बन्दि बनाइयो। २०६१ माघ २१ गते आचार्यलाई पनि बन्दि बनाइयो। त्यही बन्दि अवस्थामा रहेको बेला आचार्यले टिपोट गरेको वृतान्त हो यो पुस्तक। पुस्तकको सन्दर्भमा आचार्य भन्छन्, ‘यो पुस्तक एक समयको मेरो बन्दि जीवनको वृतान्त हो। म बन्दि रहेको त्यही कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित गर्यो र परिवर्तनको आधार तयार गर्यो। खासगरी गणतन्त्रको यात्रामा म हिंडेको बाटोका प्रसंग र सन्दर्भहरु पुस्तकमा स्मृतिका रुपमा समेटेको छु।’
नेपालमा थोरै मात्र राजनीतिक नेताहरुले आफ्नो राजनीतिक जीवनको अनुभवलाई लिपिवद्द गरेका छन्। आचार्यले आफ्नो अनुभव र तत्कालिन परिस्थितिलाई मिहिन ढंगले विश्लेषण गरेर आफ्नो बिचार यस पुस्तकमा समेटेकाले भावी पुस्ताका लागि यो पुस्तक उपयोगी हुने प्रकाशक साग्रीला बुक्सले दाबी गरेको छ।
‘गणतन्त्रको यात्रा : बन्दि वृतान्त’ पुस्तक ६३८ पृष्ठको छ। यो पुस्तक चैतको पहिलो साता बजारमा आउने प्रकाशकले जनाएको छ।