'कुनै पनि गीत कसरी क्रान्तिकारी बन्छ?'
लोकदोहोरीमा विद्यावारिधी गरेकी अमेरिकी नागरिक आना स्टिरले आइतबार मार्टिन चौतारीमा यसैबारे प्रवचन दिँदै थिइन्। प्रवचन भन्नेबित्तिकै समय सन्दर्भअनुसार कुरा उठ्ने भइहाल्यो।
चर्चामा आयो, लोकदोहोरी गायक पशुपति शर्माको उही गीत:
‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरू देशमा पाइँदैन, नेपालमै हो छुट’
सामाजिक एवं राजनीतिक बेथितीमाथि व्यंग्य गरिएको यो गीत सत्तारूढ नेकपा नेता र समर्थकहरूले युट्युबबाट हटाउन दबाब दिएपछि चर्चा चुलियो। नसुनेकाहरूले पनि खोजी खोजी सुने।
गीतमा भन्न खोजिएका कुरा नयाँ होइनन्। हामीले सधैं सुन्दै आएका। सामाजिक सञ्जालहरूमा लेख्दै आएका। समाचारमा पढ्दै आएका।
‘जब यिनै विषयवस्तुमाथि गीत बन्यो, किन समस्या आयो?’
समाजमा पहिल्यैदेखि भनिँदै आएको कुरा पनि गीतका रूपमा बज्दा कोकोहोलो मच्चिनु स्वाभाविक भएको आनाको भनाइ छ।
‘केही कुरा मुखले यसै भन्नु र गीतमा भन्नुले ठूलो महत्व राख्छ भन्ने उदाहरण हो यो,’ उनले भनिन्, ‘गीतको शक्ति नै यही हो।’
यति भनेपछि उनी अन्तर्कियाको मूल विषयमै फर्कन चाहिन्- हाल अनुसन्धान क्रममा रहेको वामपन्थी, जनवादी एवं क्रान्तिकारी गीत।
अमेरिकाको युनिभर्सिटी अफ हवाईमा उपप्राध्यापक रहेकी आना सन् २००० मा ‘स्टडी अब्रोड प्रोग्राम’ अन्तर्गत नेपाल आएकी हुन्। उनलाई यहाँको लोकदोहोरीले मन्त्रमुग्ध पार्यो। त्यही क्रममा उनले नेपाली भाषा सिकिन्, संगीत पनि।
लोक दोहोरीकै विषयमा अनुसन्धान गरेर आनाले किताब लेखेकी छन्, ‘सिगिंङ एक्रोस डिभाइडस्ः म्युजिक एन्ड इन्टिमिटेड पोलिटिक्स इन नेपाल’।
आनाका अनुसार नेपाली गीतहरु बढी शब्दमा केन्द्रित छन्। त्यसपछि नृत्य। संगीतलाई कम प्राथमिकतामा दिइएको छ।
‘आधुनिकमा क्रान्तिकारी शब्द छन् भने त्यो क्रान्तिकारी गीत। र्यापमा क्रान्तिकारी शब्द भए त्यो पनि क्रान्तिकारी। हाम्रो सिद्धान्तले यही बताउँछ। तर व्यवहारमा गीत कस्तो हुनुपर्छ?’ उनले भनिन्, ‘नेपालमा गीतलाई साहित्यका रूपमा पढिन्छ। गीतका शब्द केलाउँदै साहित्यका रूपमा पढ्नु ठिकै हो। हामीले के कुरामा ध्यान दिनुपर्छ भने गीत भनेको प्रस्तुति पनि हो।’
आनाले गायक जीवन शर्मालाई उद्धृत गर्दै भनिन्, 'गीत राम्रो बनाउने धुनमा कलाकारहरू चुक्ने गर्छन्। दुःखको कुरा त आफू चुकेको कलाकारले महशुसै गर्दैनन्।'
'त्यसैले संगीतमा धेरै काम गर्न बाँकी छ,' उनले भनिन्।
आनाले गीत अध्ययन क्रममा मोहन वैद्यदेखि मोहनविक्रम सिंह, मञ्जुलदखि ऋषिराज बराल जस्तासँग समय बिताएको बताइन्।
‘जति जति गीत अध्ययन गर्दै गएँ, संगीतले शब्द पछ्याइरहेको मात्रै पाएँ,’ उनले भनिन्, ‘म भने अध्ययन क्रममा संगीत पछ्याउन खोज्दैछु।’
आनाका अनुसार गीतमा शब्द हाबी हुने क्रम लामो समयदेखि चल्दै आएको छ। यसलाई फ्रेन्च समाजशास्त्री इमाइल दुर्खिम ‘सोसियल फ्याक्ट’ भन्छन्, अर्थात् समाजको ढाँचामा चल्नु। संगीतमा पनि त्यो ढाँचा लामो समयदेखि चल्दै आएको छ।
केही सांगीतिक विधामा भने शब्दभन्दा संगीत हाबी भएको आना बताउँछिन्। उनले उदाहरण दिइन्, ‘तराना, शास्त्रीय त्यस्तै संगीत हुन्। सबै गीतमा शब्द हुन्नन्।’
आनाका अनुसार संगीतमा सिर्जनशिलता हुनु जरुरी हुन्छ। गीत, संगीत, समायोजन, लेखन लगायत काम एकै व्यक्तिले गरिरहँदा गीतको नयाँपन हराउँछ। सुन्नेलाई पनि झिँझलो लाग्छ।
नेपालमा क्रान्तिकारी गीतको सुरुआत राणाकालमै भएको देखिन्छ। त्योभन्दा अघिबाटै हुनसक्ने भए पनि मार्क्सवादको सिद्धान्त त्यतिबेलैदेखि भएको उनी बताउँछिन्। गोकुल जोशी, युद्धप्रसाद मिश्र, केवल पुरी किसान लगायत गायकका गीत त्यस्तै हुन्।
‘उनीहरूका विरोधी गीत विशेषगरी लोकभाका शैलीका हुन्थे। पछिल्ला कलाकारले भने जनवादी, वामपन्थी गीतमा आधुनिकता र सुगम संगीत ल्याए,’ उनले भनिन्, ‘मेरो अध्ययनले आधुनिक र सुगम गीत लोकभन्दा विकसित भएको देखाउँछ।’
यी गीत निराशावादी शैलीमा गाउन हुन्न भने मान्यता छन्। विशेषगरी त्यसमा ‘वीर’ रस पाइने आना बताउँछिन्।
आनाले त्यस्ता गीतको उदाहरण पनि दिइन्। जस्तो – ‘यो नेपाली शीर उचाली’, ‘देशले रगत मागे’, ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ आदि।
‘क्रान्तिकारी गीतमा सन्देश हुन्छन्। यी गीत सबैले बुझ्ने, पढ्ने, गुनगुनाउने र सम्झन् सक्ने खालका हुन्छन्,’ उनले भनिन्, ‘यही नै यी गीतका विशेषता हुन्।’