ऊनीको रंगीचंगी धागोले बुनेको १३ सय ३६ मिटर लामो डोरी। यसबाट चित्रकार मनीषलाल श्रेष्ठ समुद्री सतहबाट काठमाडौंको लम्बाई देखाउन खोज्दैछन्। कलामा अनेक प्रयोग गर्ने मनीषको यो कला बौद्धस्थित तारागाउँ म्युजियममा प्रदर्शन भइरहेको छ।
आइतबार भने केही कलाकार एवं सर्वसाधारणले म्युजियमदेखि बौद्धनाथ स्तूपको कोरा (परिक्रमा) गराउने तयारी गरिरहेका छन्। करिब दुई वर्षअघि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भएको ‘काठमाडौं आर्ट ट्रेनाले’मा मनीषले यो कला प्रदर्शनीमा राखेका थिए। त्योबेला माइतीघर मण्डलामा यो डोरी लिएर परिक्रमा गरिएको थियो।
काठमाडौंका गल्लीहरूमा हिँड्दा मनीषले महिलाहरूले धागोबाट कपडा बुन्दै गरेका देख्थे। त्यही स्मृति संगाल्दै यो प्रतिस्थापन कलाको सोच फुरेको उनी बताउँछन्।
‘गल्लीमा भेटिने महिलाहरू धागोले कपडाहरू मात्रै बनाउँथेनन्, सम्बन्धहरू पनि विस्तार गर्थे। त्यो एकअर्काको कथा भन्ने अनि सुन्ने राम्रो माध्यम हुन्थ्यो,’ उनले भने, ‘१३३६ मिटरको डोरीले कोरा गर्दा पनि विभिन्न मानिसहरू जोडिन्छन्। काठमाडौं भनेकै विभिन्न संस्कृति एवं जातजाति जोडिएर बनेको धागोको डोरीजस्तै हो। त्यही देखाउनु मेरो कलाको अभिप्राय।’
‘प्रोजेक्ट १३३६’ नाम दिइएको प्रदर्शर्नी सोमबारसम्म तारागाउँ म्युजियममा चल्नेछ। यो कलालाई सार्थक बनाउन विभिन्न समुदायका करिब ५० महिलाले ऊनीको धागो बुन्न साथ दिएको मनीष बताउँछन्।