कवि सुमन थापाद्वारा रचित 'माइतीघरको फूल' कवितासंग्रह सार्वजनिक भएको छ। बिहीबार एक कार्यक्रममाझ कथाकार माया ठकुरीले उक्त कृति सार्वजनिक गरेकी हुन्।
कार्यक्रममा बोल्दै कथाकार ठकुरीले महिलालाई जस्तो परिस्थिति आइपरे पनि लेख्न नछाड्न आग्रह गरिन्।
कवि सुमनले फेसबुकमा पोष्ट गर्दै आएका कविताहरू संकलन गरेर उनका छोरीहरूले जन्मदिन विशेष उपहार स्वरूप कविता संग्रह दिएका हुन्।
कृतिको लोकार्पण समयसम्म पनि सुमनलाई आफ्नो कवितासंग्रह विमोचन हुँदैछ भन्ने जानकारी थिएन। नेपालमा कुनै संग्रह यसरी विमोचन भएको यो पहिलोपटक हो।
सञ्चालकले एकैपटक कवि सुमनलाई मञ्चमा बोलाउँदा उनले आफ्ना आँशु थाम्न सकिनन्। उनी बहिनी करुणको काँधमा घोप्टिएरै रोएकी थिइन्।
समालोचक तर्कना शर्माले उनका कविता मातृवात्सल्यले भरिपूर्ण रहेको बताइन्। जीवनबोध भएका उनका कविता जीवनप्रति आशावादी रहेको शर्माको भनाइ थियो। प्रेम, प्रकृति, नारी शक्ति, विकृत राजनीतिक अवस्था र विद्रोहको स्वर उनका कवितामा रहेको शर्माले बताइन्।
त्यस्तै कृतिका बारेमा बोल्दै समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्कीले कवितामा विषयगत विविधता रहेको बताए। बिम्बात्मक कविताले मान्छेलाई मान्छेजस्तो भएर जिउन उत्प्रेरित गरेको उनको भनाइ थियो।
कवि पवन आलोकले उनका कवितामा मातृप्रेम सघन भएर आएको बताए।
कार्यक्रमका अध्यक्ष कवि विधान आचार्यले यसरी नै पारिवारिक रुपमा लेखकलाई हौसलाको खाँचो रहेको बताए।
पुष्पा खनालले संस्थाका साहित्यिक गतिविधि प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा कवि ललिता दोषी, गीता कार्की, रञ्जना निरौला, चेतनाथ कँडेल, गोकुल अधिकारी, सुमन वर्षा, धुव्र मधिकर्मी, नन्दु उप्रेती, पुष्पराज लुईंटेल, सरिता अर्याल लगायतका कवि, लेखकको उपस्थिति थियो।