पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ‘नेपाल यात्रा’ हालै सम्पन्न गरेपछि नेपथ्य फेरि पूर्वतिर लाग्ने भएको छ।
माघे संक्रान्तिको भोलिपल्ट नेपथ्य फिदिममा प्रस्तुत हुँदैछ।
प्राचीन समयमा लिम्बूहरूको केन्द्रविन्दु मानिने तत्कालीन पान्थरथुम अर्थात् पाँचथर जिल्लाको सदरमुकाम हो फिदिम।
कुनै समय दस लिम्बू क्षेत्रका राजाहरू फेदेन अर्थात् यसै फिदिममा जम्मा भई आपसी कुराहरूको निर्णय लिने गरेको ऐतिहासिक महत्व यस सहरसँग छ। पूर्वाञ्चलको माथिल्लो यस भेगमा नेपथ्यले पहिलोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो।
माघ २ गते यहाँस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डले लोकरक तथा अन्य सिर्जनाहरू सुनाउनेछ। कन्सर्ट ठीक छ बजे सुरू हुनेछ ।
दसैंलगत्तै सिक्किमको राबाङ र त्यसपछि मुलुकभर चार वटा सहरको ‘नेपाल यात्रा’ गरेपछि नेपथ्यलाई अन्य पनि विभिन्न सहरहरूबाट कन्सर्टको निम्ति प्रस्ताव आएको थियो। त्यसमध्ये हालसम्म नेपथ्यले प्रस्तुत गर्न नपाएको नयाँ सहर भएकै कारण फिदिमलाई प्राथमिकतामा राखिएको हो।
स्थानीय आयोजक श्री सुम्हालुङ युथ क्लबले फिदिम सहरको प्रवर्द्धनका निम्ति कन्सर्ट आयोजना गर्ने र मुनाफाका रकमबाट विभिन्न सामाजिक कार्यमा योगदान दिने उद्देश्य पनि प्रस्तुत गरेको छ।
‘अंग्रेजी क्यालेण्डरको नयाँ वर्षसँगै नेपथ्यलाई नयाँ स्थानमा प्रस्तुत गर्ने इच्छा राखेका थियौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसै अनुसार सन् २०१९ को यो पहिलो कन्सर्ट पनि हुने भएको छ।’
पहिलोपटक नेपथ्यलाई आफ्नो भेगमा निम्त्याउन तत्पर स्थानीय आयोजकहरूका गतिविधिकै कारण पनि यतिबेला पाँचथरमा चहलपहल बढेको छ।
‘केही वर्षअघि इलामको फिक्कल पुग्दा त्यहाँका दर्शकले देखाएको आत्मीयता मैले अझै भुल्नसकेको छैन,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘ठूला व्यवसायिक आयोजनाहरूको आफ्नै महत्व छन्। मलाई भने साना सहरका प्रिय स्रोताहरूको घेरामा पुग्दा अझ आनन्द लाग्छ।’
गुरुङका अनुसार ‘सुन्दर शान्त नेपाल’ कार्यक्रम अन्तर्गतै नेपथ्यलाई समेत प्रस्तुत गर्न सन् २००५ मा पनि फिदिमको संभाव्यता अध्ययन गरिएको थियो। फिदिम पुगेरै निरीक्षण गरेता पनि त्यतिबेला व्यवस्थापकीय कारणले त्यो संभव हुन सकेको थिएन।
‘आज त्यो पुरानो सपना पूरा भएको छ,’ गुरुङ भन्छन्, ‘फिदिमवासीका अघिल्तिर प्रस्तुत हुन हामी आतुर छौं।’
स्थानीय आयोजकका अनुसार बुधबारको कन्सर्टका निम्ति पाँचथर बाहेक झापा, इलाम, तेह्रथुम र ताप्लेजुङमा समेत कन्सर्टको प्रचार प्रसार तीव्र पारिएको छ। त्यसैगरी यी सबै स्थानमा बेग्लाबेग्लै टिकट काउन्टरसमेत राखिएका छन्।
नेपथ्य कन्सर्टका निम्ति ब्याण्ड काठमाडौंबाट प्रस्थान गर्ने अन्तिम तयारीमा छ।
सधैंजस्तै फिदिमममा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।