कवि जीवन खत्रीको पहिलो कविता संग्रह ‘आगोको वर्णमाला’ बजारमा आएको छ।
शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस, कवि मोमिला, पत्रकार बिमल आचार्य, निबन्धकार दीपक सापकोटा र कविका पितामाताले संग्रह संयुक्त रूपमा विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख वक्ता कवि तुलसी दिवसले ‘आगोेको वर्णमाला’ कविता संग्रहमा पहाडी बिम्बहरू टिपेर लेखिएका सुन्दर कविताहरूको संगालो रहेको बताए।
पुस्तकमाथिको अन्तरसंवाद कार्यक्रममा बोल्दै निबन्धकार दीपक सापकोटाले जीवनका कविताहरूमा कोमल रहेका र आमाका बिम्बहरू कलात्मक एवं गहिरो अर्थका साथ घुलेको बताए।
सापकोटाले यस कृतिले जीवनलाई नयाँ उचाई दिने र कविहरूको भीडमा प्रष्ट चिनाउन सक्ने दाबी गरे।
यस्तै समालोचक विमल आचार्यले नेपाली कविता क्षेत्रमा जीवन खत्रीका कविताहरूमा सबै किसिमका स्वरूपहरू पाउन सकिने बताउँदै भने, ‘कविता पढ्दा कवि खत्री प्रगतिवादी कवि हुन् भन्नेमा कुनै शंका छैन।’
कवि मोमिलाले जीवनका कविताहरू सुन्दर र सरल रहेको भए पनि आगोजस्तै रापिलोसमेत भएको धारणा राखिन्।
कवितासंग्रह ‘यूरेका पब्लिकेसन’ले प्रकाशन गरेको हो।